वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार माइक्रोसफ्ट, सफ्टवेयर निर्माता एडोबी तथा ठूला सूचना प्रविधि सेवा प्रदायक कम्पनीहरूलाई रोजगारीमा आधारित स्थायी आवास अनुमति (ग्रिनकार्ड) प्रक्रियाबाट स्थगित गरेको छ। साथै, नौ प्रतिष्ठित विश्वविद्यालयमाथि अनुसन्धान सुरु गरेको छ। प्रशासनले यी कदमलाई प्रणालीमा हुने अनियमितता रोक्ने र अमेरिकी नागरिकको रोजगारी संरक्षण गर्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ।
राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेदेखि नै अमेरिकामा विदेशी नागरिकको सङ्ख्या घटाउने तथा उनीहरूलाई स्थायी बसोबास र नागरिकता प्राप्त गर्ने बाटोमा कडाइ गर्ने नीति अघि बढाउँदै आएका छन्। बिहीबारका निर्णयले दक्ष विदेशी कामदारको आप्रवासन कार्यक्रममाथि अहिलेसम्मकै व्यापक कारबाहीको सङ्केत गरेको छ। यसले अमेरिकी प्रविधि क्षेत्रमा कार्यरत विदेशी कामदारका लागि स्थायी बसोबास प्राप्त गर्ने प्रचलित बाटोसमेत अवरुद्ध गर्न सक्ने देखिएको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले माइक्रोसफ्टले अमेरिकी प्रणालीको सबैभन्दा बढी दुरुपयोग गरेको आरोप लगाए। उनका अनुसार कम्पनीले गत वर्ष ६ हजार अमेरिकी कर्मचारीलाई कामबाट हटाउँदा एच–१बी अस्थायी कार्य भिसाअन्तर्गत ६ हजार ३०० कामदारको सुविधा लिएको थियो भने करिब तीन हजार ग्रिनकार्डसमेत प्राप्त गरेको थियो।
भान्सको यो भनाइ राष्ट्रपति ट्रम्पले अमेरिकी योगदानका लागि प्रविधि क्षेत्रका अर्बपतिहरूलाई सम्मान गर्नुभन्दा केही घण्टाअघि आएको हो। सम्मानित हुनेमध्ये माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नडेलासमेत थिए। नडेला र अर्का सम्मानित उद्यमी एलन मस्कले पनि विगतमा एच–१बी भिसा लिएका थिए। सम्मानित अन्य तीन प्रमुख कार्यकारी अधिकृत पनि आप्रवासी हुन्।
नडेलाले सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पलाई सम्मानका लागि धन्यवाद दिँदै प्रविधिको विकास र अमेरिकी समृद्धि अघि बढाउन निरन्तर काम गर्ने बताएका छन्।
अमेरिकी श्रम विभागको तथ्याङ्कअनुसार माइक्रोसफ्ट रोजगारीमा आधारित स्थायी आवास अनुमतिका लागि आवश्यक स्थायी श्रम प्रमाणीकरण (पर्म) आवेदन सबैभन्दा बढी दिने कम्पनी हो। पर्म प्रक्रियाअन्तर्गत रोजगारदाताले विदेशी कामदार नियुक्त गर्दा अमेरिकी कामदारको रोजगारी वा पारिश्रमिकमा प्रतिकूल असर नपर्ने प्रमाणित गर्नुपर्छ। रोजगारीमा आधारित अधिकांश ग्रिनकार्डका लागि यो प्रक्रिया आवश्यक हुन्छ।
माइक्रोसफ्टले एक विज्ञप्तिमा गत आर्थिक वर्षमा आफूले पेस गरेका एच–१बी आवेदनमध्ये करिब ८० प्रतिशत नयाँ कर्मचारी नियुक्तिका लागि नभई कार्यरत कर्मचारीको भिसा अवधि थप्न वा उनीहरूको हैसियत परिवर्तन गर्नका लागि रहेको जनाएको छ। कम्पनीले गत जुलाईमा विश्वभरका आफ्ना कर्मचारीमध्ये करिब २.१ प्रतिशत अर्थात् ४ हजार ८०० जनाको रोजगारी कटौती गर्ने घोषणा गरेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।