काठमाण्डौ । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले राजमार्ग तथा सडक किनारका होटल/रेस्टुरेन्ट सञ्चालक र सार्वजनिक यातायातका चालकलाई विशेष निर्देशन जारी गरेको छ।
दशैंलगायत चाडपर्वको समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने र यात्रुले बाटोमा खाना, नास्ता तथा अन्य खानेकुरा लिनुपर्ने अवस्थालाई ध्यानमा राख्दै विभागले सफा, स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउन निर्देशन दिएको हो।
विभागले सार्वजनिक यातायातका चालकलाई सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छताको स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टमा मात्र गाडी रोक्न आग्रह गरेको छ।
यातायात व्यवस्था विभागका अनुसार यात्रुलाई खाना तथा नास्ता उपलब्ध गराउने होटल/रेस्टुरेन्टले न्यून गुणस्तरको खाना खुवाएको, अस्वच्छ खाना बिक्री गरेको वा अनुचित रूपमा बढी मूल्य लिएको गुनासो आएपछि यस्तो निर्देशन जारी गरिएको हो।
विभागले होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई गुणस्तरीय, स्वच्छ र उपयुक्त मूल्यमा खाना तथा नास्ता उपलब्ध गराउन भनेको छ।
बढी मूल्य लिए वा न्यून गुणस्तरको खाना खुवाए कडा कारबाही
विभागले होटल तथा रेस्टुरेन्टका कारण यात्रु बिरामी भएको वा गुणस्तरहीन खाना खुवाएको पाइएमा सम्बन्धित निकायले सूक्ष्म निगरानी गर्ने जनाएको छ।
यदि खाना, नास्ता तथा अन्य खाद्य सामग्रीका कारण यात्रु बिरामी भएको पाइएमा सम्बन्धित सवारी चालक र होटल/रेस्टुरेन्ट सञ्चालकमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने विभागले स्पष्ट पारेको छ।
गुनासो कहाँ गर्ने ?
विभागले यात्रुलाई होटल/रेस्टुरेन्टमा खाना तथा नास्ताको स्वच्छता र गुणस्तर कमजोर भएको वा मूल्यमा ठगी भएको पाइएमा उजुरी गर्न पनि आग्रह गरेको छ।
यात्रुले नेपाल प्रहरीको हेल्पलाइन नम्बर १००, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका नजिकका कार्यालयमा सम्पर्क गरी गुनासो गर्न सक्नेछन्।
विभागले सबै सार्वजनिक सवारी चालक, होटल तथा रेस्टुरेन्ट व्यवसायी र यात्रुलाई यात्राका क्रममा खाद्य स्वच्छता, गुणस्तर र उचित मूल्यप्रति सचेत रहन आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।