काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म विकास बैंकहरूको समग्र नाफा दोहोरो अंकले बढेको छ। उपलब्ध तथ्यांकअनुसार १७ विकास बैंकले भदौसम्म कुल १ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ नाफा कमाएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा १ अर्ब २७ करोड ११ लाख रुपैयाँ थियो। यस आधारमा विकास बैंकहरूको समग्र नाफा १२.२८ प्रतिशतले बढेको देखिन्छ।
नाफाका आधारमा गरिमा विकास बैंक पहिलो स्थानमा छ। बैंकले भदौसम्म २८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकको नाफा २७ करोड ४६ लाख रुपैयाँ थियो। गरिमाको नाफा ४.८१ प्रतिशतले बढेको हो।
दोस्रो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकले २५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ। तर बैंकको नाफा गत वर्षको ३६ करोड १७ लाख रुपैयाँबाट ३०.५० प्रतिशत घटेको छ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २० करोड ८४ लाख रुपैयाँ नाफा कमाउँदै तेस्रो स्थान हासिल गरेको छ। यसको नाफा १८.७२ प्रतिशतले बढेको छ। कामना सेवा विकास बैंकको नाफा १९ करोड २६ लाख रुपैयाँ पुगेको छ भने ज्योति विकास बैंकले १८ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ।
नाफा वृद्धिदरमा भने महालक्ष्मी विकास बैंकले बलियो छलाङ मारेको छ। बैंकको नाफा गत वर्षको १० करोड ७५ लाख रुपैयाँबाट बढेर १८ करोड २७ लाख रुपैयाँ पुगेको छ। यो ७०.०४ प्रतिशतको वृद्धि हो। यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको नाफा ६४.९० प्रतिशतले बढेर १ करोड ६८ लाख रुपैयाँ पुगेको छ।
यता केही बैंकको नाफामा ठूलो गिरावट आएको छ। लुम्बिनी विकास बैंकको नाफा ६८.४८ प्रतिशत घटेर १ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष बैंकले ३ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो। सांग्रिला डेभलपमेन्ट बैंकको नाफा पनि ४०.३१ प्रतिशत घटेर ९ करोड ७९ लाख रुपैयाँमा झरेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंक भने गत वर्षको ७ लाख ७० हजार रुपैयाँ घाटाबाट सुधार गर्दै यस वर्ष ३० लाख ६० हजार रुपैयाँ नाफामा फर्किएको छ।
अर्कोतर्फ सलपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंक अझै घाटामा छन्। तर नारायणी, सिन्धु, एक्सेल र कर्णालीले गत वर्षको तुलनामा घाटा उल्लेख्य रूपमा घटाएका छन्।
विशेषगरी एक्सेल डेभलपमेन्ट बैंकको घाटा गत वर्षको १८ करोड ६५ लाख रुपैयाँबाट घटेर यस वर्ष करिब ८७ लाख रुपैयाँमा सीमित भएको देखिन्छ। यसले बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधारको संकेत गरेको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।