काठमाडौँ । दसैँ नजिकिएसँगै खाद्यान्न, तरकारी तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ। पछिल्लो करिब दुई महिनामा खाद्यान्न तथा तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा परेका हुन्।
पछिल्लो समयमा खाद्यान्नको मूल्य प्रतिकिलो ५ देखि ३० रुपैयाँसम्म बढेको नेपाल खुद्रा व्यापार संघको तथ्यांक छ। संघको तथ्यांक अनुसार ताइचिन चिउरा प्रतिकिलो १९० बाट २०० रुपैयाँ, चना दाल १७० बाट १८० रुपैयाँ, रहर दाल २२० बाट २३० रुपैयाँ, मासको दाल २१५ बाट २२० रुपैयाँ र चामल ९०–१०० बाट १२० रुपैयाँ पुगेको छ। यस्तै काँचो बदामको मूल्य २६० बाट २९० रुपैयाँ र मुरली मकैको १२५ बाट १४० रुपैयाँ, धनियाँ गेडा ३०० बाट ३९० रुपैयाँ पुगेको छ ।
यस्तै बजारमा मासु तथा अन्डाको मूल्य पनि बढेको छ । खसीको मासु प्रतिकिलो १ हजार ६५० रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा २०० रुपैयाँ बढी हो । जिउँदो खसीको मूल्य प्रतिकिलो ६८० बाट ८०० रुपैयाँ पुगेको छ भने अन्डाको मूल्य प्रतिक्यारेट ४५० बाट ६०० रुपैयाँ पुगेको छ ।
यस्तै तरकारीको मूल्य पनि बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो दुई महिनामा तरकारीको मूल्य पनि आकासिएको छ । समितिका अनुसार भदौ १ गते नेपाली ठूला गोलभेडाको मूल्य ६० रुपैयाँ रहेकोमा आज ७० पुगेको छ । यस्तै सानो लोकल गोलभेडाको मूल्य ३० रुपैयाँबाट बढेर ७० रुपैयाँ पुगेको छ । यस्तै प्याज ६० बाट ८३ रुपैयाँ पुगेको छ । मुला २० बाट ४० रुपैयाँ पुग्दा करेला ४० बाट १०० रुपैयाँ पुगेको छ ।
व्यवसायीहरूले नेपालमा आएको पछिल्लो समयको बाढीपहिरोले गर्दा सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट सामान ढुवानी गर्नुपर्दा लागत बढेपछि दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बताउँदै आएका छन् ।
यसैबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले महँगीको गुनासो बढेपछि बजार अनुगमनलाई तिव्रता दिएको जनाएको छ । विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार ग्यास, चिनी लगायतको मूल्य बढेको गुनासो आउने गरेको छ । अस्वाभाविक मूल्यवृद्धि गर्नेलाई जरिवाना तथा कारबाही गर्ने गरिएको पनि उनले बताए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।