काठमाडौँ । सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा ३ करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।
सूचना तथा सञ्चार मन्त्रालयले यथार्थपरक, मौलिक र जनचेतनामूलक चलचित्र निर्माणका लागि स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन विधामा अनुदान दिन आवेदन आह्वान गरेको हो। इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक विवरण र कागजातसहित आवेदन दिनुपर्नेछ।
मन्त्रालयका अनुसार अनुदानका लागि चलचित्रको नाम, कथा तथा पटकथाकार, भाषा, निर्माता, निर्देशक, छायाँकार, कलाकारलगायतको विवरण पेस गर्नुपर्नेछ। साथै सम्बन्धित व्यक्ति तथा संस्थाको परिचय, चलचित्र निर्माणको कार्ययोजना र साझेदार संस्थासम्बन्धी विवरण भए सोसमेत समावेश गर्नुपर्नेछ।
सरकारले मौलिक कथा, स्थानीय संस्कृति, परम्परा, सामाजिक यथार्थ र राष्ट्रिय पहिचानलाई चलचित्रमा समेट्न प्रोत्साहन गर्ने उद्देश्यले ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३’ अनुसार कार्यक्रम सञ्चालन गर्न लागेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।