काठमाण्डौ । साउदी अरेबियामा सुरक्षा अवस्था संवेदनशील बनेपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।
पश्चिम एसियामा पछिल्लो समय बढेको सुरक्षा तनाव र रियाद विमानस्थलमाथिको आक्रमणपछि नेपाली नागरिकको सुरक्षालाई ध्यानमा राख्दै दूतावासले यस्तो अपील गरेको हो। नेपाल सरकारले पनि अक्टोबर ११ मा रियाद विमानस्थलमाथि भएको आक्रमणबारे औपचारिक वक्तव्य जारी गरेको थियो।
दूतावासले सुरक्षा चेतावनी जारी भएका क्षेत्र तथा समयमा विशेष सावधानी अपनाउन, स्थानीय प्रशासन र आधिकारिक निकायले जारी गरेका निर्देशन पालना गर्न तथा अनावश्यक आवतजावत नगर्न भनेको छ।
त्यस्तै, सामाजिक सञ्जालमार्फत अपुष्ट, भ्रामक वा उत्तेजक फोटो, भिडियो र सूचना पोस्ट तथा सेयर नगर्नसमेत आग्रह गरिएको छ। संकटको समयमा आधिकारिक स्रोतबाट पुष्टि नभएको सामग्रीले थप त्रास र भ्रम सिर्जना गर्न सक्ने भन्दै दूतावासले सचेत गराएको हो।
हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट उडान तालिका यकिन गरेपछि मात्र विमानस्थलतर्फ जान सुझाव दिइएको छ। सुरक्षा अवस्थाका कारण उडान तालिका परिवर्तन वा अवरोध हुन सक्ने जोखिमलाई ध्यानमा राखेर यस्तो आग्रह गरिएको हो।
कुनै समस्या, सुरक्षा जोखिम वा आपत्कालीन अवस्था आएमा रियादस्थित नेपाली राजदूतावास, जेद्दास्थित महावाणिज्यदूतावास वा परराष्ट्र मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्षमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा रहेका नेपालीको सहायता र समन्वयका लागि २४सै घण्टा सञ्चालन हुने Emergency Control Room समेत सक्रिय राखेको छ। उक्त कक्षमा +977 9744441227, +977 9744441228 र +977 9744441229 नम्बर तथा [email protected] इमेलमार्फत सम्पर्क गर्न सकिन्छ।
साउदी अरेबिया नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यमध्ये एक भएकाले त्यहाँको सुरक्षा अवस्थाले ठूलो संख्यामा नेपालीलाई प्रत्यक्ष प्रभाव पार्न सक्छ। त्यसैले दूतावासले व्यक्तिगत सुरक्षा, यात्राको योजना र सूचना आदानप्रदानमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।