काठमाण्डौ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले बैंक पुनर्निर्माणको दोस्रो चरणमा प्रवेश गरेको बताएका छन्।
उनले पहिलो चरणमा बैंकको रणनीतिक दिशा र संरचना फेरेको, खर्च घटाएको र जोखिम व्यवस्थापन कडा बनाएको उल्लेख गरेका छन्। अबको प्राथमिकता हकप्रदबाट पुँजी भित्र्याउने, समस्याग्रस्त कर्जा व्यवस्थापन गर्ने र ग्राहक सेवा तथा आम्दानी सुधार्ने रहेको उनको भनाइ छ।
शाक्यको रणनीतिमा दुई काम सँगसँगै गर्नुपर्ने देखिन्छ। एउटा, पुरानो कर्जा पोर्टफोलियोको समस्या सम्बोधन गर्ने। अर्को, नयाँ कर्जा विस्तार गरेर आम्दानी बढाउने। यी दुई कामको सन्तुलनले बैंकको पुनरुत्थानको गति तय गर्नेछ। शाक्यले आगामी दुई आर्थिक वर्षलाई पुनर्निर्माणको जटिल मध्यचरणका रूपमा चित्रण गरेका छन्। उनले लिएको रणनीतिअनुसार यो बैंकले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद सेयर निश्कासनको अनुमति समेत पाइसकेको छ ।
पुरानो कर्जाको दबाबबीच नयाँ विस्तार
शाक्यले ‘एभरग्रिनिङ’ बन्द गरेको बताएका छन्। नयाँ कर्जा वा थप वित्तीय सुविधा दिएर पुरानो कर्जाको भुक्तानी नियमित देखाउने अभ्यासलाई बैंकिङमा एभरग्रिनिङ भनिन्छ। समस्याग्रस्त सम्पत्तिको असर बैंकले बेहोरेको पनि उनले उल्लेख गरेका छन्। उनको भनाइअनुसार पहिलो चरणमा संस्थागत तथा पूर्वाधार बैंकिङमा जोड बढाइएको छ, लक्षित बिक्री बढेको छ र ग्राहक गुनासा घटेका छन्।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले पुनर्निर्माणको चुनौती देखाउँछ। बैंकको निष्क्रिय कर्जा अनुपात गत वर्षको सोही अवधिको ६.९९ प्रतिशतबाट ९.८१ प्रतिशत पुगेको छ। खुद नाफा करिब ४.३ प्रतिशत बढेर १२ करोड ७४ लाख रुपैयाँ पुगे पनि सञ्चालन नाफा करिब १६.६ प्रतिशत र खुद ब्याज आम्दानी करिब १७.४ प्रतिशत घटेको छ। कर्जा तथा अन्य सम्पत्तिको मूल्य क्षतिबापतको खर्च घट्दा खुद नाफालाई टेवा पुगेको हो। वितरणयोग्य नाफा भने करिब १५ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक छ।
त्यसैले आगामी त्रैमासमा निष्क्रिय कर्जाको अनुपातसँगै त्यसको कुल रकम र वास्तविक असुली पनि हेर्नुपर्ने हुन्छ। नयाँ कर्जा बढ्दा कुल कर्जाको आकार ठूलो भएर निष्क्रिय कर्जाको अनुपात घट्न सक्छ। पुराना समस्याग्रस्त कर्जाबाट कति रकम उठ्यो र नयाँ कर्जाको भुक्तानी कति नियमित छ भन्ने तथ्यांकले सुधारको प्रकृति देखाउनेछ।
हकप्रदपछि थपिने पुँजी कहाँ परिचालन हुन्छ ?
नेपाल धितोपत्र बोर्डले विद्यमान दुई कित्ताबराबर एक कित्ताका दरले प्रस्तावित हकप्रद सेयरको विवरणपत्र प्रकाशन गर्न स्वीकृति दिएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद जारी गर्ने योजना बनाएको छ। प्रस्तावित सबै कित्ता बिक्री भए करिब ७ अर्ब ४६ करोड रुपैयाँ थपिएर चुक्ता पुँजी करिब २२ अर्ब ३८ करोड रुपैयाँ पुग्नेछ। हकप्रदबाट उठ्ने रकम बैंकको खातामा ल्याउने कामलाई शाक्यले दोस्रो चरणको प्राथमिकतामा राखेका छन्।
थप पुँजीले बैंकलाई कर्जा विस्तार गर्ने ठाउँ दिन सक्छ। त्यसबाट सेयरधनीले पाउने प्रतिफल भने बैंकले कस्तो कर्जा छान्छ, कति ब्याज आम्दानी कमाउँछ र कति रकम असुल गर्छ भन्नेमा निर्भर हुनेछ। हकप्रदपछि सेयर संख्या ५० प्रतिशत बढ्ने भएकाले प्रतिसेयर आम्दानी कायम राख्न पनि सोही अनुपातमा खुद नाफा बढ्नुपर्छ।
खर्च घटाउँदै सेवा र आम्दानी सुधार्ने योजना
दोस्रो चरणमा शाक्यले खर्चलाई बैंकको कारोबार र सेवाको आवश्यकताअनुसार समायोजन गर्ने, जोखिम व्यवस्थापन थप बलियो बनाउने र आम्दानीका स्रोत विविधीकरण गर्ने लक्ष्य राखेका छन्। ग्राहक सेवा सुधारसँगै योग्यता र कार्यसम्पादनमा आधारित कार्यसंस्कृति तथा नेतृत्व विकासलाई पनि उनले प्राथमिकतामा राखेका छन्। खर्च घटाउने निर्णयको प्रभाव सञ्चालन नाफामा देखिनेछ। सेवा सुधारको प्रभाव भने ग्राहकको काम कति छिटो हुन्छ र गुनासाको समाधान कसरी हुन्छ भन्नेबाट देखिनेछ।
शाक्यले तीन वर्षभित्र एनआईसी एशियाको पुनरुत्थान प्रतिष्ठित व्यवस्थापन शिक्षालयमा अध्ययन गर्न लायक उदाहरण बन्ने आकांक्षा राखेका छन्। उनले एक वर्षमै ‘चमत्कार’को अपेक्षा नराख्न आग्रह गर्दै दिगो सुधारको प्रतिबद्धता जनाएका छन्। त्यसको पहिलो प्रमाण आगामी वित्तीय विवरणमै खोजिनेछ। पुरानो कर्जा असुली बढ्दै जाँदा नयाँ कर्जा स्वस्थ रहने र खुद ब्याज आम्दानी तथा सञ्चालन नाफा पनि सुधारिने हो भने बैंकले दिशा फेरेको दाबी अंकमा देखिन थाल्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।