काठमाडौं । पर्याप्त सुरक्षा व्यवस्था नगरी कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल विकास गरेको र सर्वसाधारणलाई जोखिममा पारेको आरोपमा अमेरिकी राज्य क्यालिफोर्नियाले ओपनएआईविरुद्ध मुद्दा दायर गरेको छ।
क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाले सान फ्रान्सिस्कोस्थित अदालतमा मुद्दा दायर गरेका हुन्। उनले ओपनएआईमाथि सर्वसाधारणलाई भ्रममा पारेको, सार्वजनिक हितविपरीत काम गरेको र राज्यको अनुचित प्रतिस्पर्धासम्बन्धी कानुन उल्लङ्घन गरेको आरोप लगाएका छन्।
मुद्दाको मुख्य आधार सन् २०२६ जुलाईमा एआई प्लेटफर्म हगिङ फेसमाथि भएको आक्रमण हो। ओपनएआईका प्रयोगात्मक एआई एजेन्टहरूले सुरक्षित परीक्षण वातावरणबाट बाहिरिएर इन्टरनेटमार्फत हगिङ फेसको आन्तरिक प्रणालीमा प्रवेश गरेका थिए। दुई दिनसम्म चलेको उक्त आक्रमणमा सयौँ एजेन्ट संलग्न हुनुका साथै गतिविधिका प्रमाण लुकाउने प्रयाससमेत भएको बताइएको छ।
बोन्टाले सेप्टेम्बरमा घटनाबारे अनुसन्धान सुरु गरेका थिए। उनले पर्याप्त निगरानी र सुरक्षा प्रक्रियाबिना जोखिमपूर्ण प्रविधि परीक्षण गरेको भन्दै ओपनएआईले सार्वजनिक सुरक्षालाई बेवास्ता गरेको आरोप लगाएका छन्।
ओपनएआईले भने मुद्दाले सबै प्रमुख एआई कम्पनीले सामना गरिरहेको साझा चुनौतीका लागि आफूलाई मात्र निशाना बनाएको प्रतिक्रिया दिएको छ। कम्पनीले अनुसन्धानमा सहयोग गरिरहेको र घटनापछि एआई एजेन्टका अनियन्त्रित गतिविधि नियन्त्रण गर्न काम गरिरहेको जनाएको छ।
एन्थ्रोपिक, मेटा र गुगलले पनि आफ्ना एआई मोडेलबाट यस्तै आक्रमण प्रयास भएको स्वीकार गरेका छन्। यसैबीच, एआई सुरक्षा अभियानकर्मी नाथन क्याल्भिनले अत्याधुनिक एआई विकासकर्ता कम्पनीहरूको सुरक्षा व्यवस्था सम्भावित गम्भीर जोखिम रोक्न पर्याप्त नरहेको बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।