काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स आमनेसामने हुने भएका छन् । बिहीबार दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिमले साविक विजेता लुम्बिनीसँगको भेट पक्का गरेको हो ।
सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनल पुगेको हो । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग हारेको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनीसँग पराजित भएको थियो । यसपटक उसले पहिलो उपाधि जित्ने अर्को अवसर पाएको छ भने लुम्बिनी लगातार दोस्रो उपाधिको होडमा छ ।
लिग चरणमा लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम १० अंकसहित दोस्रो भएको थियो । पहिलो क्वालिफायरमा सुदूरपश्चिममाथि सहज जित निकाल्दै लुम्बिनी सिधै फाइनल पुगेको थियो । दोस्रो क्वालिफायरको अवसर सदुपयोग गर्दै सुदूरपश्चिमले चितवनलाई प्रतियोगिताबाट बाहिर पठायो ।
यस सिजन लिग चरण र पहिलो क्वालिफायर गरी दुईपटक भिड्दा दुवै खेल लुम्बिनीले जितेको छ । अब सिजनको तेस्रो भेटमा सुदूरपश्चिमसँग लुम्बिनीविरुद्ध पहिलो जित निकाल्दै उपाधि हात पार्ने मौका छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।