काठमाडौं। एसियाली सेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ। कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा भइरहेको अर्बौँ डलरको लगानी दीर्घकालीन रूपमा टिकाउ नहुने चिन्ता बढेपछि लगानीकर्ताको मनोबल कमजोर बनेको हो। एआई कम्पनी एन्थ्रोपिकको उत्साहजनक सेयर बजार प्रवेशले पनि लगानीकर्ताको चिन्ता कम गर्न सकेन।
शुक्रबार जापान, दक्षिण कोरिया, ताइवान र हङकङका प्रमुख सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। बिहानको कारोबारमा जापानको निक्केई २२५ र दक्षिण कोरियाको कोस्पी सूचकांक करिब ४.५ प्रतिशतले घटेका छन्। ताइवानको ताइएक्स सूचकांक झन्डै ६ प्रतिशतले ओरालो लागेको छ भने हङकङको हाङसेङ सूचकांक २ प्रतिशतसम्म घटेको छ।
एसियाका प्रमुख सेयर बजार एआई उद्योगसँग गहिरो रूपमा जोडिएका छन्। दक्षिण कोरियाका एसके हाइनिक्स र सामसङ इलेक्ट्रोनिक्स, ताइवानको चिप निर्माता टीएसएमसी तथा जापानको सफ्टबैंक ग्रुप विश्वव्यापी एआई क्षेत्रका प्रमुख कम्पनी हुन्।
प्रविधि कम्पनीहरूले पछिल्ला वर्षहरूमा एआई विकासमा खर्बौँ डलर लगानी गरेका छन्। यसले सन् २००० को डटकम संकटअघि देखिएको जस्तै कृत्रिम बजार मूल्यवृद्धि अर्थात् ‘बबल’ सिर्जना हुन सक्ने चिन्ता बढाएको छ। प्रविधि अनुसन्धान कम्पनी गार्टनरका अनुसार एआईसम्बन्धी विश्वव्यापी लगानी सन् २०२६ मा २.७ ट्रिलियन र सन् २०२७ मा ३.६ ट्रिलियन डलर पुग्ने अनुमान छ।
यसैबीच, चीनको उन्नत चिप प्रविधिमा पहुँच सीमित गर्ने अमेरिकी कदमले पनि बजारमा दबाब थपेको छ। एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत जेनसन हुआङको चिनियाँ गुप्तचर निकायसँग आबद्ध व्यक्तिसँग प्रेम सम्बन्ध रहेको आरोप सार्वजनिक भएपछि पनि यस विषयले चर्चा पाएको छ।
एसियाली बजारको गिरावटअघि बिहीबार अमेरिकी सेयर बजारमा पनि कमजोरी देखिएको थियो। न्युयोर्कस्थित नास्डाकमा कारोबार सुरु गरेको पहिलो दिन एन्थ्रोपिकको सेयर मूल्य १७ प्रतिशतले बढे पनि प्रमुख सूचकांकहरू घटेर बन्द भएका थिए।
एन्थ्रोपिकको सेयर कारोबार सुरु हुँदा प्रतिकित्ता १११.५० डलर पुगेको थियो भने अन्त्यमा ९७ डलरभन्दा केही माथि कायम भएको थियो। यससँगै क्लाउड एआई च्याटबट निर्माता एन्थ्रोपिक विश्वकै मूल्यवान् कम्पनीमध्ये एक बनेको छ।
सानफ्रान्सिस्कोमा मुख्यालय रहेको एन्थ्रोपिकले इतिहासकै ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ८१.३ अर्ब डलर जुटाएको थियो। यसले जुन महिनामा स्पेसएक्सले जुटाएको ७५ अर्ब डलरलाई उछिनेको हो।
एन्थ्रोपिकको सेयरमा उत्साह देखिए पनि अमेरिकी प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्डाक कम्पोजिट सूचकांक २.३ प्रतिशत र व्यापक बजार प्रतिनिधित्व गर्ने एसएन्डपी ५०० सूचकांक २ प्रतिशतले घटेर बन्द भएका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।