काठमाण्डौ । पूँजीकोष टाइट हुँदा व्यवसाय बिस्तार गर्न नसक्ने अवस्थामा पुगेका बैंक तथा वित्तीय संस्थाका लागि राष्टबैंकले सहज नीतिगत व्यवस्था गरेपछि कामना सेवा विकास बैंक सो व्यवस्थाअनुसार अग्राधिकार सेयर जारी गर्ने पहिलो वित्तीय संस्था हुने भएको छ ।
कामना सेवा विकास बैंकले ९ प्रतिशतका दरले अविमोच्य असञ्चिती अग्राधिकार सेयर(पर्पेच्यूअल नन् क्युमुलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने निर्णय गरेको हो ।
सोमबार दिउँसो ३ः१५ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले रु. १०० दरले ३५ लाख इकाई अर्थात ३५ करोड बराबरको ९ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
त्यस्तो सेयरमा मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने तथा कुनै पनि सुरक्षण नराखी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरुका लागि मात्र बिक्री गरिने निर्णय भएको कम्पनी सचिव तथा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिएका छन् ।