काठमाण्डौ । स्वीडेनको बहुराष्ट्रिय कार निर्माता कम्पनी भोल्भो सन् २०३० सम्ममा पूर्ण रूपमा विद्युतीय कार मात्र उत्पादन गर्ने आफ्नो लक्ष्यबाट पछि हटेको छ । कम्पनीले सन् २०३० मा पूर्ण रूपमा ईभी कार उत्पादक बन्ने योजनाबाट पछि हट्दै अब अब त्यस मितिसम्ममा केही हाइब्रिड गाडी पनि बिक्री गर्ने योजना बनाएको छ ।
३ वर्षअघि पूर्ण रुपमा ईभी उत्पादक बन्ने घोषणा गरेको कम्पनीले लक्ष्य त्याग्ने निर्णयको लागि बजारको अवस्थामा आएको परिवर्तनलाई जिम्मेवार ठहराएको छ । केही प्रमुख बजारहरुमा विद्युतीय सवारीसाधनको मागमा आएको कमी र चीनमा निर्मित ईभीमा व्यापार शुल्क बढेका कारण विश्व अटो उद्योगले अनिश्चितताको सामना गरिरहेको बेला भोल्भोको यस्तो निर्णय सार्वजनिक भएको हो ।
वातावरणीय स्वच्छताका लागि प्रतिवद्धता जनाएको भोल्भो पनि अन्य प्रमुख कार निर्माताहरू जनरल मोटर्स र फोर्डजस्ते पूर्ण रुपमा ईभी उत्पादक बन्ने योजनाबाट पछि हटेको छ । भोल्भोले अब सन् २०३० सम्ममा आफ्नो उत्पादनको कम्तिमा ९० इलेक्ट्रिक कार र प्लग–इन हाइब्रिड दुवै उत्पादन गर्ने लक्ष्य बनाएको छ ।