शनिबार, फाल्गुन १०,२०८१ 09:48:48
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:48:48
IME remit
Global IME Bank Limited

यही साता सेबोनले अध्यक्ष पाउने, सबैलाई चकित पार्दै बाजी मार्नसक्छन् यी पात्रले

सुरुवातमै ५० करोडसम्म खर्च गर्न तयार छन् स्वार्थ समूह, नयाँ स्टकको लाइसेन्स पाउन अलग्गै खेल !

Hyundai Nepal
यही साता सेबोनले अध्यक्ष पाउने, सबैलाई चकित पार्दै बाजी मार्नसक्छन् यी पात्रले
Nabil Bank Limited

काठमाण्डौ । विगतमा जस्तो पूर्वनिर्धारित तालिका कुनै आकस्मिक कारणले फेरबदल भएन भने अर्को साताभित्र पूँजीबजारले आफ्नो प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पाउने पक्का छ ।  

पूँजीबजारको प्रमुख नियामक धितोपत्र बोर्ड विगत एकवर्षदेखि अध्यक्षविहीन छ । कामचलाउ जनशक्तिको भरमा बोर्ड सञ्चालन हुँदा बजारमा बढेको विकृति नियन्त्रण हुन सकेको छैन भने बजारबाटै पूँजी जुटाउन लागिपरेका कम्पनीहरुको समेत थुप्रो लागेको छ ।  

अर्थमन्त्रालयअन्तरगत योजना  आयोगका उपाध्यक्षको संयोजकत्वमा गठित धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले लामो समयदेखि रोकिएको अन्तर्वार्ताका लागि अनुपस्थित तीनजनालाई अन्तर्वार्ता र प्रस्तुतिकरणका लागि आइतबार बोलाएको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

अध्यक्षका लागि आवेदन दिएकामध्येबाट ५ जनाको सर्टलिस्टमा परेकामध्ये विगतमा २ जनाको अन्तर्वार्ता भइसकेको छ भने बाँकी ३ जना अनुपस्थित भएपछि प्रक्रिया नै स्थगित हुन पुगेको थियो । सो प्रक्रियालाई अगाडि बढाउने गरी विगतमा २ पटक प्रयास भए पनि विविध कारण देखाउँदै तोकिएको अन्तर्वार्ता पुनः स्थगित भएका थिए ।  

हालसम्मको अवस्था हेर्दा र अर्थका अधिकारीहरुसँग अनौपचारिक कुरा गर्दा भोलि(आइतबार)का लागि तोकिएको बाँकी ३ उम्मेद्वारको अन्तर्वार्ता हुने निश्चित छ ।  

यसअघि धितोपत्र बोर्डको अध्यक्षको सर्टलिस्टमा परेकामध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अन्तर्वार्ता दिइसकेका छन् । अब आइतबार कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र नवराज अधिकारीलाई अन्तर्वार्ताका लागि बोलाइएको छ ।  

स्रोतहरुका अनुसार माओवादी नेतृत्वको सरकारको पालामा तत्कालीन अर्थमन्त्री वर्षमान पुनको इशारामा जानाजान अन्तर्वार्तामा नगएकामध्ये कार्की र अधिकारी आइतबार जाने तयारीमा छन् ।  

तत्कालीन बीमा समितिको अध्यक्ष समेत रहेका चापागाईं भने आइतबारको अन्तर्वार्तामा समेत नजाने देखिएको छ । चापागाईले आफू निकटस्थहरुसँग रोकिएको सरकारी प्रक्रियालाई टुंगो पुर्याउनका लागि मात्र कर्मकाण्डी अन्तर्वार्तामा आफू नजाने बताएका छन् । ‘कसलाई अध्यक्ष बनाउने भन्ने कुरा लगभग टुंगिसकेको अवस्थामा स्थगित प्रक्रियालाई अगाडि बढाउनका लागि मात्रै सरकारको कर्मकाण्डी डिजाइनलाई साथ दिन जानुपर्ने आवश्यकता छैन ।’ चापागाईंलाई उद्धृत गर्दै एक निकटस्थले भनेका छन् ।  

तर, आइतबारको अन्तर्वार्तामा चापागाई नगए पनि जारी प्रक्रियामा केही फरक पर्दैन । कार्की र अधिकारी जाने निश्चित झै छ । यी दुईमध्ये पनि एकजना मात्रै जाँदा समेत प्रक्रिया अगाडि बढ्छ । किनभने धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि गठित सिफारिस समितिले आवेदकमध्ये ३ जनाको नाम सरकारलाई सिफारिस गर्नुपर्छ । २ जनाले यसअघि नै अन्तर्वार्ता दिइसकेकाले बाँकी एकजना मात्रै अन्तर्वार्तामा गए पनि ३ जनाको नाम सिफारिस गर्न बाटो खुल्नेछ ।  

सिफारिस समितिले दिएका ३ नाममध्येबाट सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद बैठकले एकजनालाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।  

बोर्ड अध्यक्ष लामो समयदेखि नियुक्त गर्न नसकेका कारण गलत सन्देश बजारमा गएको र त्यसले सेयर लगानीकर्ताहरुको मनोबलमै नकारात्मक प्रभाव पारिरहेको निश्कर्ष निकालेका अर्थमन्त्री विष्णु पौडेलले सकेसम्म बोर्ड अध्यक्षका लागि एकजनाको नाम मन्त्रिपरिषदको सोमबारकै बैठकमा पेश गर्ने र सोही दिन नियुक्त हुने अधिक सम्भावना रहेको छ ।  

कसको सम्भावना ?

धितोपत्र बोर्डको अध्यक्ष नहुँदा कामचलाउ नेतृत्वले प्राथमिक सेयर, थप सेयर र हकप्रद लगायतका सेयर निश्कासनका बग्रेल्ती प्रक्रियाहरुलाई टुंगोमा पुर्याउने गरी काम नै गर्न सकेको छैन । निमित्तको भरमा बोर्ड चल्दा हालसम्म ७७ वटा कम्पनीको आईपीओ प्रस्ताव बोर्डको पाइपलाइनमा अड्किएर बसेको छ। यसरी हेर्दा करिब ४५ अर्ब रुपैयाँको सेयर निश्कासनका प्रस्तावका फाइल बोर्डका दराजहरुमा थन्किएका छन् । हकप्रदतर्फ पनि निकै ठूलो कित्ताको प्रस्ताव अलपत्र अवस्थामा छ । यिनै अलपत्र कामहरु अध्यक्ष नियुक्ति भएलगत्तै सुरु हुने अपेक्षा गरिएको छ ।  

उसो भए अलपत्र परेको बोर्डलाई गति दिने गरी अध्यक्षमा कसले बाजी मार्ला त ? बजारमा निकै ठूलो चासो देखिन्छ ।  

विभिन्न स्रोतहरुको दाबीलाई आधार मान्ने हो भने बजारमा चर्चा गरिएजस्तै सन्तोषनारायण श्रेष्ठको पहिलो सम्भावना देखिन्छ ।  

उनको विषयमा सरकारमा सहभागी दलबीच एकमत बनेन भने बोर्डमा कार्यकारी निर्देशकको रुपमा कार्यरत मुक्तिनाथ श्रेष्ठको समेत सम्भावना छ । उनी केही नरम स्वभावक छन्, तर नेतृत्व क्षमता भने गतिलो छैन ।  

यदि श्रेष्ठद्वयलाई कुनै कारणवश रोजिएन भने पछिल्लो समय भित्रभित्रै निकै प्रभावकारी प्रयासहरु गरिरहेका कृष्णबहादुर कार्कीले सबैलाई आश्चर्यचकित पार्दै बाजी मारिदिनसक्छन् । ‘पछिल्लो समय कार्की निकै उत्साहित र आत्माविश्वासी देखिन्छन् ।’ स्रोतले भन्यो–‘उनले शक्तिकेन्द्रहरुलाई समेत रिझाउन निकै लामो समय पाए । पूँजीबजारलाई गतिशील बनाउने र देखिएका समस्या समाधान गर्ने गरी बजारलाई नजिकबाट बुझेका कारण अध्यक्षको रुपमा कार्कीको नाम फुत्त बाहिर आयो भने अचम्म नमान्दा हुन्छ ।’  

बजारलाई ‘सरप्राइज’ दिनसक्ने क्षमताका कार्की हाल नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । उनले नेप्सेमा सिस्टम सुधारका लागि केही राम्रा काम गरे पनि प्रचारमुखी नहुँदा कामै गर्न नसकेको आरोप समेत खेप्ने गरेका छन् ।  

वर्षमान पुनको खास विश्वासपात्रको रुपमा चर्चा हुने गरे पन पछिल्लो समय उनले कित्ता परिवर्तन गरेको चर्चा समेत चल्ने गरेको छ ।  

बोर्डमै ‘कामचलाउ’को अवसर समेत पाएका डा. नवराज अधिकारीको अध्यक्ष बन्ने सम्भावना भने छैन । अरुलेभन्दा बढी पढेका भए पनि सबैलाई मिलाएर लैजानसक्ने सन्तुलित नेतृत्व क्षमता डा. अधिकारीमा छैन । फेरि आफूलाई माओवादी अध्यक्ष प्रचण्डको परिवारभित्रको मान्छे ठान्ने डा. अधिकारीलाई एमाले नेतृत्वको सरकारले बोर्ड अध्यक्षमा नियुक्त गर्ने कुनै सम्भावना देखिन्न ।  

स्वार्थ समूहको चलखेल

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि रोकिएको प्रक्रिया अगाडि बढ्नै लाग्दा विभिन्न स्वार्थ समूहहरुले चलखेललाई तीव्र पारेका छन् ।  

विभिन्न व्यापारिक घराना तथा बिचौलियाहरुले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स स्वीकृत गर्ने शर्तसहित निकै ठूलो लगानी गरेर आफूनिकटको पात्रलाई धितोपत्र बोर्डका अध्यक्ष बनाउने चाजोपाजो मिलाइरहेका छन् ।  

स्रोतहरुका अनुसार विशाल ग्रुप, शंकर समूह, भट्ट समूह र आईएमई समूह समेत आफूनिकटको व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने गरी भित्री अभियानमा छन् । यसका लागि तत्काल बोर्ड अध्यक्षका लागि ४० देखि ५० करोडसम्म खर्च गर्न ती समूह तयार देखिएका छन् ।  

बोर्ड अध्यक्ष बनिसकेपछि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स पाउँदा केही अर्ब लगानी गर्नेसम्मका सेटिङ भएका स्रोतहरु दाबी गर्छन् ।  

‘धेरै ठूला समूहहरु लगानी गर्न तयार छन् । तर सरकारवादीहरुले कसको पैसा स्वीकार गर्ने भन्ने कुराले धेरै अर्थ राख्ला ।’ स्रोतहरु भन्छन्–‘यो लडाईमा भट्ट समूह ब्याक हुने अवस्था भयो भने आईएमई समूहले बाजी मार्नसक्छ ।’

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.