काठमाण्डौ । ओयो होटल सेवा प्रदान गर्ने एक अनलाइन प्लेटफर्म हो । सन् २०१३ मा रितेश अग्रवालद्वारा सुरु गरिएको ओयो पछिल्लो समय भारतमा लोकप्रिय बन्दै गएको छ ।
ओयो प्लेटफर्मले साना र मझौला होटलहरुसँग समझदारी गरी ग्राहकहरुलाई होटलसम्बन्धी सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । विश्वका विभिन्न देशहरुमा विस्तार भएको ओयो होटल बुकिङका लागि प्याकेज र यात्रा सेवाहरुको लागि लोकप्रिय बन्दै गइरहेको छ ।
भारतीय चर्चित अभिनेत्री माधुरी दीक्षित, अमृता राव र बलिउड निर्माता गौरी खानले पछिल्लो केही समययता ओयोको सेयर खरिद गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
स्रोतका अनुसार गौरी खानले २०२४ अगस्टमा बन्द भएको सिरिज जी फाइनान्सिङ राउण्डमा ओयोको २४ लाख सेयर किनेकी थिइन् । कम्पनीले लगानीका लागि एक संघबाट १४ सय करोड रुपैयाँ जुटाएको स्रोतले जनाएको छ ।
हाल यी कम्पनीहरु सार्वजनिक भएपछि राम्रो रिटर्न पाउने लक्ष्य लिदै भारतीय कलाकारहरुले उच्च बृद्धि भएको स्टार्टअपहरुमा आफ्नो लगानीलाई विविधिकरण गर्ने प्रवृत्ति बढेको छ ।
भारतीय चर्चित नायिका माधुरी दीक्षित, उनका पति डा। श्रीराम नेने, क्लिनिशियन डाक्टर, प्लेक्स स्पेस कम्पनी इनोवेटका संस्थापक, प्लाक्षा विश्वविद्यालयको संस्थापक सदस्य र एन्जिल इन्भेष्टर डा. रितेश मलिकले अज्ञात मूल्यांकनमा २० लाख सेयर खरिद गरेको कम्पनीले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।
यसका साथै अर्को भारतीय सेलिब्रेटी दम्पती अमृता राव र उनका पति अनमोल सूदले पनि भारतीय सेयरबजारमार्फत ओयोको सेयर खरिद गरेको स्रोतले जनाएको छ । उनीहरु लोकप्रिय रेडियो जोकी हुन् ।
स्रोतका अनुसार नुवामा वेल्थले भर्खरै आफ्नो लगानीकर्ताहरु पारिवारिक कार्यालयहरुको समूहको तर्फबाट दोस्रो लेनदेनमार्फत ओयोमा प्रतिसेयर ५३ रुपैयाँमा १०० करोडको सेयर खरिद गरेको छ ।
यसर्थ कम्पनीको मूल्य ४.६७ बिलियन डलर रहेको छ । यद्यपि कम्पनीको मूल्यांकन बढ्न पुगेपनि १० बिलियन डलरको शिखरबाट भने कम्पनी अझैपनि टाढा नै छ ।