काठमाण्डौ । वित्तीय अवस्था औसत रहेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत दलबलसहित पोखरा पुगे । त्यहाँ सो बैंकको उच्च अधिकारीहरुको टोली पुग्नुको एउटै उद्देश्य थियो ः पोखरामै रहेको पोखरा फाइनान्सलाई अनेक प्रयास गरेरै भए पनि आफूमा बिलय गराउने ।
बैंकका अधिकारीहरुले पोखरा फाइनान्सका मुख्य लगानीकर्ता र संस्थापकहरुसँग ब्याक टू ब्याक वार्ताहरु गरे ।
फाइनान्सलाई उसले चाहेजस्तै सेयर स्वाप(भाउ) दिने, कर्मचारीहरुले सो फाइनान्समा खाइपाई आएको तलब र सेवासुविधा समेत नघटाउने लगायतका प्रस्तावहरु पनि राखियो । तर, पटक–पटकको प्रयासमा समेत पोखरा फाइनान्सलाई औसत अवस्थामा रहेको वाणिज्य बैंकको जिम्मा लगाइएन ।
दलबलसहित काठमाण्डौबाट पोखरा पुगेको टोलीले पोखरा फाइनान्सका संस्थापक तथा प्रमुख प्रमोटरहरुलाई मर्जरका लागि राजी बनाउन सकेन ।
त्यसबेला राम्रो वित्तीय अवस्थामा रहेको कम्पनीलाई आफूमा गाभेर गण्डकी प्रदेशमा आफ्नो नेटवर्क तथा विजिनेश बिस्तार गर्ने र बैंकलाई थप बलियो बनाउने सो वाणिज्य बैंकको दाउ पोखरामै तुहियो । बैंकका उच्च अधिकारीहरुको टोली पोखरा फाइनान्सले आफूहरुलाई नपत्याएको निश्कर्षसहित फेवातालमा डूंगा सयरमै आफ्नो भ्रमणलाई सीमित गरी काठमाण्डौ फिर्ता भयो ।
माथिको हरफमा उल्लेख गरिएका घटनाक्रम करिब एक वर्षअघिको हो, जतिबेला वित्तीय रुपमा पोखरा फाइनान्स बिग्रिसकेको थिएन । पोखरा फाइनान्सलाई पाउन हरप्रकारका प्रयास गर्ने बैंकरहरुको संख्या निकै हुन्थ्यो । ठूला र कमजोर बैंक(कम्पनी) पोखरा फाइनान्स जस्ता साना र सवल संस्था लिने चाहना राखेका भेटिन्थे भने पोखरा फाइनान्सका प्रमोटर चाहिँ ठीक उल्टो वाणिज्य बैंकलाई भाउ दिंदैन थिए । मर्जरको प्रस्ताव ल्याउनेसँग तर्किदै हिँड्थे ।
'कुनैबेला त पोखरा फाइनान्सका प्रमोटर साथीहरुसँग भेट्नै पनि गाह्रो पथ्र्यो ।' पोखरा गएर मर्जरको प्रस्ताव अस्वीकृत भएपछि निराश भई फर्किएका एक बैंकर सम्झन्छन्स-'बैभन्दा बलवान समय रहेछ । हिजो पोखरा फाइनान्स कहाँ थियो, आज के भयो भनेजस्तो भएको छ ।'
एकवर्षअघिसम्म पोखरा फाइनान्स लिन मरिहत्ते गर्नेहरु अहिले आएर यो कम्पनीको नाम सुन्नेबित्तिकै तर्सिने अवस्था बनेको छ । खराब कर्जाको अनुपात बढेर निकै माथि पुगेपछि पोखरा फाइनान्सको दयनीय तस्विर बाहिर आएको छ । 'अहिले अवस्था उल्टो बन्न पुगेको छ । पोखरा फाइनान्सका प्रमोटर र उच्च अधिकारीहरुले उल्टै कमजोर वाणिज्य बैंकसम्मलाई पनि आफूहरुको संस्था मर्जरमा लगेर डूब्नबाट जोगाइदिन अनुरोध गर्ने अवस्था बनेको छ ।' ती बैंकरले भने -'काठमाण्डौबाट मर्जरको प्रस्ताव लिएर जाँदा भाग्ने फाइनान्सका साथीहरु अहिले आफैं रुँदै कराउँदै आफ्नो कम्पनी अक्वायर गरिदिन भनिरहेका छन् ।'
डूब्ने अवस्थामा छ फाइनान्स
चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरणअनुसार पोखरा फाइनान्स समस्याग्रस्त अवस्थामा देखिएको छ । यो अवधिसम्म फाइनान्स ६३ करोड ७९ लाख बढीले घाटामा गएको छ । यो अवधिमा सञ्चालन नाफा ९५ करोड ७९ लाखले ऋणात्मक छ भने वितरणयोग्य नाफामा १ अर्ब ५५ करोड २० लाखले ऋणात्मक छ ।
यस्तै, फाइनान्सको रिटेर्न अर्निङ १ अर्ब ५५ करोड २० लाखले ऋणात्मक छ भने नटवर्थ ५४ रुपैयाँ हाराहारीमा सीमित बन्न पुगेको छ ।
यो फाइनान्सको निस्क्रिय कर्जा अनुपात ३३.३४ प्रतिशत छ । प्रतिसेयर आम्दानीमा उच्च पहिरो गई ५८.९३ रुपैयाँले ऋणात्मक बन्न पुगेको छ ।
यो फाइनान्सलाई दोश्रो वित्तीय विवरण प्रकाशित हुनुअघि नै राष्ट्र बैंकले किन समस्याग्रस्त घोषणा नगर्ने भनेर स्पष्टीकरण सोधेको थियो । तर, अवस्था थप दयनीय बन्दा समेत समस्याग्रस्त घोषणा गरी व्यवस्थापन टेकओभर गर्न ढिलाई गरेको देखिन्छ ।
अनावश्यक तडकभडकले डूब्यो
पोखरा फाइनान्स निकट स्रोतहरुका अनुसार यो कम्पनी डूब्नु पछाडिको मुख्य कारण जथाभावी कर्जा प्रवाह गरिनु र कर्मचारी सेवा सुविधाको नाममा अनावश्यक तडकभडक गरिनु हो ।
पोखरा फाइनान्सका कर्मचारीहरुको तलब स्केल र थप सेवा सुविधा सवल वाणिज्य बैंकको भन्दा पनि राम्रो थियो ।
'हामीले पोखरा फाइनान्सलाई मर्जरका लागि प्रस्ताव लिएर जाँदा त्यहाँका कर्मचारीहरुले पाउने गरेको तलब र सेवासुविधा देखेरै हामी चकित परेका थियौं ।' अर्का एक वाणिज्य बैंकका सीईओले बिजशालासँग भने-'कर्मचारीको तलब तथा सेवासुविधा तथा सञ्चालकहरुको भत्ता वा अन्य सुविधाको नाममा फाइनान्समा लामो समयदेखि लूटधन्दा चलाइएको थियो ।'
सानो साइजको फाइनान्सको विजिनेश निश्चित समुदायमा मात्र केन्द्रीत हुनु, त्यस्तो समुदायलाई आँखा चिम्लिएर कमसल धितोमै समेत धेरै लोन दिइनु र उच्च व्यवस्थापन तथा सञ्चालकको मिलेमतोमा अनावश्यक खर्च हुँदा समेत केन्द्रीय बैंकले गर्ने सुपरीवेक्षण कमजोर हुनु लगायतले समेत पोखरा फाइनान्स अहिलेको डूब्ने अवस्थामा आइपुगेको स्रोतहरु दाबी गर्छन् ।
कोसँग मर्जरमा जाला ?
पोखरा फाइनान्स पछिल्लो समय ठूला वाणिज्य बैंकमा बिलय हुन हरसम्भव प्रयासमा छ । मर्जर कमिटी बनाएर उसले केही वाणिज्य बैंकहरुसँग वार्ता पनि गरिरहेको छ ।
तर, सो वार्ताको क्रममा वाणिज्य बैंकहरुले डूब्ने अवस्थामा पुगेको यो फाइनान्सलाई २० रुपैयाँ हाराहारीमा मात्र मूल्य प्रस्ताव गरिरहेका छन् ।
पोखरा फाइनान्सका प्रमोटरहरु केही राम्रो भाउ पाउने आशामा प्रयासलाई जारी राखेका छन् । तर, अप्ठ्यारोमा परेको फाइदा उठाउँदै केही ठूला बैंकहरुले यो फाइनान्सलाई कौडीको भाउमा उठाएर मौका छोप्न खोजिरहेको देखिन्छ ।
फाइनान्सले खोजेजस्तो धेरै राम्रो मूल्य पाउने अवस्था अहिले छैन । यसकारण कुनै वाणिज्य बैंकले चाहेजस्तो सस्तो मूल्यमा बिकिन तयार भएमा मात्र पोखरालाई संकटबाट जोगाउने प्रयास सफल हुनसक्छ । होइन भने, पोखरा फाइनान्सलाई पनि केन्द्रीय बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई जस्तै समस्याग्रस्त घोषणा गरी टेकओभर गर्नुको विकल्प देखिन्न ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                