काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेललाई षड्यन्त्रमूलक ढंगले जिउँदै जलाउने प्रयास भएको हो ? पोखरामा भएको एउटा घटनापछि प्रहरीले यो कोणबाट समेत अनुसन्धान थालेको छ ।
पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा शनिवार दिउँसो विद्युतको कनेक्सन रहेको बेलुन एक्कासी बिस्फोट भई उठेको ठूलो आगोको लप्काले भेटेर अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते भएका छन् ।
सो समारोहको प्रमुख अतिथिको रुपमा रहेका पौडेलको हात र अनुहार जलेको छ भने उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट तत्काल काठमाण्डौको किर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको छ ।
सोही घटनामा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई पनि थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।
अर्थमन्त्री पौडेलको तुलनामा मेयर आचार्यको अवस्था केही गम्भीर देखिएको प्रहरीले जनाएको छ ।
कार्यक्रम उद्घाटनका लागि विद्युतको कनेक्सनसहितको बेलुन फुटाउन अर्थमन्त्री र मेयर सँगै स्टेजबाट ओर्लिने क्रममा थिए । बेलुन समाएर फुटाउनै लाग्दा एकाएक ह्वारह्वार्ती आगो बलेको थियो । सो क्रममा अर्थमन्त्री घटनास्थलबाट भाग्दै मञ्चतर्फ लागेका थिए भने मेयर आगोको लप्काभित्रै फसेका देखिएको थियो ।
घटनालगत्तै कास्की प्रहरीले कार्यक्रमस्थल नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
अनुसन्धानका क्रममा सो घटना दुर्घटना मात्र हो कि नियोजित हो भन्ने विषयमा केन्द्रीत भएको कास्की प्रहरी प्रवक्ताले बिजशालासँग बताएका छन् । प्रहरी निरीक्षक अभिनव जिसीले बिजशालाको टेलिफोन सम्पर्कमा 'बेलुन कसरी तयार गरिएको थियो, त्यसभित्र के के कुरा हालिएको थियो र के कारणले बमजस्तै विस्फोट भई सो घटना हुन पुग्यो' भन्ने विषयमा केन्द्रीत रही अनुसन्धान थालिएको बताएका छन् । 'घटनाको कारण जे पनि हुनसक्छ । कसैको योजनामै गराइएको पनि हुनसक्छ वा प्राविधिक गडबडीका कारणले पनि हुनसक्छ । सम्भावित सबै कोणबाट अनुसन्धान थालेका छौं । अहिले यसै भन्न सकिने अवस्था छैन ।'- प्रनि जिसीले थपे ।

अर्थमन्त्रीका प्रेस सल्लाहकार भूवन केसीले प्रारम्भिक रुपमा हेर्दा घटना नियोजितजस्तो नदेखिएको दाबी गरे पनि अनुसन्धानपछि नै यथार्थ कारण खुल्ने जिकिर गरे । 'प्रहरीले चाहिँ नियतविश पनि हुनसक्ने एंगलबाट हेरिरहेको रहेछ नि त ?' भन्ने बिजशालाको प्रश्नमा सल्लाहकार केसीले भने-'दुर्घटना हो कि नियतवश हो भन्ने कुुरा अनुसन्धानबाट मात्र आउँछ । बाहिरबाट बुझ्दा आयोजकले ससम्मान तरिकाले प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई भव्य बनाउनका लागि अर्थमन्त्रीलाई लगेका कारण हामीले शंका गर्नु राम्रो मानिँदैन । अनुसन्धानबाट जे खुल्छ, त्यसलाई नै हामीले पनि आधिकारिक मान्नुपर्ने हुन्छ ।'
उनले प्राविधिक ज्ञानको कमी र त्रुटिका कारण समेत घटना भएको देखिएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरु उद्घाटन गर्दा सचेत हुनुपर्ने पाठ यो घटनाले सबैलाई सिकाएको समेत जिकिर गरे ।

