काठमाण्डौ । देशमा भित्रिने रेमिट्यान्स ७.३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ७ महिनासम्म विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ९ खर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.९८५ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब १० अर्ब ७७ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४३२ र १ लाख ५७ हजार ४५ रहेको थियो ।