काठमाण्डौ । दक्षिण कोरियाको जंगलमा लागेको भीषण आगलागीमा हालसम्म कम्तीमा २७ जनाको मृत्यु भएको बताइएको छ । यो जानकारी दक्षिण कोरियाको आन्तरिक मन्त्रालयले बिहीबार मार्च २७ मा एक विज्ञप्ति जारी गर्दै दिएको हो। मृतकमध्ये अधिकांश ६० देखि ७० वर्षका रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
आगलागीमा ३२ जना घाइते भएका छन् । यसअघि २६ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने ३० जना घाइते भएका थिए ।
आगलागीका कारण हजारौं मानिस विस्थापित भएका छन् । यस आगलागीको चपेटामा कैयौं प्राचीन स्थल पनि परेका छन् । जसमा जंगलमा आगलागीका कारण ध्वस्त भएको १३ सय वर्ष पुरानो बौद्ध मन्दिर पनि पर्छन् ।
दक्षिण कोरियाको दक्षिण–पूर्वमा रहेको जंगलमा मार्च २१ मा आगलागी भएको थियो ।यो जंगलमा लागेको आगोले एक साताभित्रै ३५ हजार हेक्टरभन्दा बढी क्षेत्रलाई जलाएको छ ।
तीव्र हावा र सुख्खा जमिनका कारण आगो छिट्टै फैलिएको अधिकारीहरुको अनुमान छ । योसँगै तीव्र हावाहुरीका कारण हेलिकप्टर सञ्चालनमा समेत जोखिम बढेको छ । मंगलबार आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना भएको थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                