काठमाण्डौ। भर्खरै म्यानमार र थाईल्यान्डमा भूकम्पका कारण ठूलो क्षति भएको छ । भूकम्पका कारण म्यानमारमा ठूला–ठूला भवनहरु भत्किएका भिडियोहरु सामाजिक सञ्जालहरुमा भाइरल भएका छन् ।
यस्तो प्राकृतिक प्रकोप कुनैपनि बेला र कतैपनि घट्न सक्दछ । यस्तो अवस्थामा होम इन्स्योरेन्स (घर बीमा)अन्यन्तै उपयोगी हुन्छ । घरबीमाको मुख्य उद्देश्य कठिन परिस्थितिमा तपाईको सम्पत्तिलाई सुरक्षित राख्नु हो ।
भूकम्प यस्तो प्राकृतिक प्रकोप हो, जुन कुनै पनि बेला र कतै पनि आउन सक्छ । यसले कति क्षति पुर्याउँछ भन्ने कुरा भने म्याग्निच्युडमा निर्भर हुन्छ ।
यदि भूकम्प, बाढी वा अन्य कुनै प्राकृतिक प्रकोपका कारण तपाईको घरमा क्षति पुग्छ भने घर बीमा वा सम्पत्ति बीमाले भरपाई गर्न मद्दत गर्दछ । जसको मुख्य उदाहरण गत असोज महिनामा नेपालमा आएको भीषण बाढीका कारण विभिन्न क्षेत्रमा मेशिनहरु तथा सम्पत्ति क्षति गरेको थियो । हाल बीमा कम्पनीहरुले त्यसको जाँचबुझ गरी दाबी भुक्तानी दिइरहेका छन्।
आजको समयमा घरबीमा अनिवार्य त छैन, तर दिनप्रतिदिन आवश्यक भने बन्दै गएको छ । आउनुहोस् यसको मुख्य फाइदाहरु के छ बुझिराखौं ।
घर बीमा सामान्यतया दुई किसिमको हुन्छ
घर बीमा सामान्यतया दुई प्रकारको हुन्छ । घरको सुरक्षा कभर र घरभित्र रहेको सामानको सुरक्षा कभर गर्ने बीमा । घर बीमालाई स्ट्रक्चर इन्स्योरेन्स कभर भनिन्छ । यदि बाढी, भूकम्प, आगलागी, चट्याङ, चोरी, डकैती वा दंगा जस्ता घटनाका कारण क्षति पुग्छ भने स्ट्रक्चर इन्स्योरेन्स निकै उपयोगी हुन्छ ।
दोस्रो प्रकार हो कन्टेन्ट इन्स्योरेन्स । यो बीमाले इलेक्ट्रोनिक सामानहरु, फर्निचर, गहना र अन्य बहुमूल्य वस्तुहरुलाई सुरक्षा कवरेज गर्दछ । यदि तपाईको घरको संरचना र भित्रका सामान दुबै सुरक्षाका लागि बीमा चाहानुहुन्छ भने कम्प्रिहेन्सिभ इन्स्योरेन्स रोज्न सक्नुहुनेछ । यो बीमामा दुबै प्रकारको सुरक्षा कभर समावेश हुन्छ ।
किन आवश्यक छ घर बीमा ?
घरबीमा अनिवार्य नै त छैन, तर पछिल्लो समय विभिन्न देशहरुमा भूकम्प जस्ता प्राकृतिक प्रकोप आइरहेका छन् । नेपालमा पनि गत १५ गते मात्रै तीनकुनेमा भएको आन्दोलनका कारण केही घरहरुमा क्षति पुगेको थियो । यस्तो क्षतिहरुमा यस्तो बीमाले कभर गर्दछ ।
प्राकृतिक विपत्तीहरुमा भने कम्प्रिहेन्सिभ होम इन्स्योरेन्स नै उपयोगी हुन सक्छ । प्राकृतिक प्रकोपको उच्च जोखिम भएका क्षेत्रहरुमा होम इन्स्योरेन्स महत्पवूर्ण नै हुन्छ । नेपालको पश्चिम क्षेत्रका केही स्थानहरु भूकम्पबाट बारम्बार केन्द्रित हुन्छन् भने चितवनको नारायणी क्षेत्र लगायतका विभिन्न बाढीबाट ग्रसित हुन सक्ने क्षेत्र हुन् । यस्तो अवस्थामा होम इन्स्योरेन्स वा सम्पत्ति बीमा महत्वपूर्ण हुन सक्छ ।
साथै यो बीमाले आगलागी, चट्याङ, चोरीडकैती जस्ता कभरहरुको पनि कभर गर्दछ । त्यसैले यो बीमा सबैका लागि उपयोगी र सुरक्षा दिने उपाय बन्न सक्छ ।
कुनैपनि इन्स्योरेन्स योजना छनोट गर्नुअघि तपाईलाई आफ्नो आवश्यकता राम्रोसँग थाहा हुनुपर्दछ । तपाईको आवश्यकता के हो त्यसअनुरुप नै सही योजना चयन गर्न सक्नुपर्दछ ।
यदि तपाईलाई बीमाको विषयमा स्पष्टता छैन भने तपाईले वित्तीय सल्लाहकार वा इन्स्योरेन्स एजेन्टहरुसँग पनि परामर्श लिन सक्नुहुनेछ । बीमा एजेन्टहरुले तपाईको आर्थिक अवस्था, घरको मूल्य र स्थान मूल्याङ्कन गरेर सबैभन्दा उपयुक्त बीमालेख सिफारिस गर्न सक्नेछ ।
तपाईले यदि घरबीमा गराउन चाहानुहुन्छ भने तपाईको आवश्यकता र जोखिमको आधारमा नै प्रिमियम निर्धारण हुन जान्छ । तपाईले घर बीमा गराउँदा त्यसमा अन्य सुविधाहरु पनि थप गर्नुभएमा प्रिमियम पनि त्यहिअनुसार बढी पर्न जान्छ ।
तपाईले घर बीमा वा सम्पत्ति बीमा गराउन चाहानुहुन्छ भने नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्, उक्त कम्पनीहरुको वेबसाइटमा गएर पूर्ण जानकारी समेत लिन सक्नुहुनेछ ।
–एजेन्सीको सहयोगमा