काठमाण्डौ । हेटौँडा सिमेन्ट उद्योगले करिब पाँच महिनापछि पुनः सिमेन्ट उत्पादन थालेको छ। लामो समयदेखि बन्द रहेको उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएसँगै आजदेखि पुनःउत्पादन सुरु भएको हो ।
उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मत गर्नुपर्ने भएकाले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।
उद्योगलाई चुनढुंगा पेल्न दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने जनाइएको छ । उद्योगलाई आवश्यक पर्ने १९ सय मेट्रिक टन कोइला अहिले जगेडामा राखिएको छ।
विसं २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । तर आर्थिक समस्यालगायतका कारण उद्योग बन्द भएको थियो ।
हाल उद्योगमा कुल १९५ जनाले स्थायी रोजगारी पाईरहेका छन् । दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि हाल उद्योगले १२ हजार बोरा मात्र उत्पादन गरिरहेको छ ।