काठमाण्डौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द हुने भएको छ । यो सडकखण्डको दाउन्ने क्षेत्रमा सोमबार रातीदेखि रातको समयमा राजमार्ग बन्द गरी सडक बिस्तारको काम सुरु गरिएको हो ।
दाउन्ने खण्डमा गएराति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । यस्तो रोक लगाई सडक मर्मत तथा विस्तारको काम यही वैशाख १५ गतेसम्म जारी रहनेछ । गत चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त खण्डमा यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको थियो ।
नारायणघाट(बुटवल खण्डको ११४ किलोमिटरमध्ये १०० किलोमिटर चार लेनमा तथा दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुनेछ । राजमार्ग बन्द गरेर सडकमा भएका खाल्डाखुल्डी पुर्ने र त्यसपछि पहाडको भित्ता काट्ने काम अगाडि बढाइने जनाइएको छ ।
गत चैतको अन्तिम साता परेको सामान्य वर्षाका कारण हिलो हुँदा यहाँको सडकमा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको थियो ।