काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता भने सेयर बजारमा ४ दिन कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ७२२.७३ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६५८.०२ विन्दुमा बन्द भयो ।
यस हिसाबले समग्रमा यो साता बजार ६४.७१ अंकले घट्यो । अघिल्लो साता भने बजार ५२.०३ अंकले बढेको थियो । यो साता सेयर बजारमा ४० अर्ब ९८ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो साता भने ३२ अर्ब ८८ करोडबराबरको सेयर कारोबार भएको थियो । यस हिसाबले यो साता दोस्रो बजारमा नेप्से परिसूचक र कारोबार दुवै घट्यो ।
यो साता बजार पूँजीकरण ४४ खर्ब १९ अर्ब रह्यो । अघिल्लो साता भने बजार पूँजीकरण ४५ खर्ब २६ अर्ब कायम थियो । यस हिसावले यो साता बजार घट्दा लगानीकर्ताको सम्पत्ति १ खर्ब ७ अर्बले घट्यो ।
प्राविधिक पक्षः
क्याण्डल स्टिकको आधारमा
साप्ताहिक रुपमा यो साताको बजारलाई नियाल्दा नेप्सेको चार्टमा ‘बियरिस इन्गल्फिङ प्याटर्न’ बनेको छ । यदि अघिल्लो हरियो क्याण्डललाई पछिल्लो रातो क्याण्डलले पूरै ढाक्छ भने त्यसलाई बियरिस इन्गल्फिङ प्यार्टन भनिन्छ । यसले घट्दो बजारलाई संकेत गर्छ । यस विपरित यदि अघिल्लो रातो क्याण्डलाई पछिल्लो हरियो क्याण्डलले पूरै ढाक्छ भने त्यसलाई बुलिस इन्गल्फिङ भनिन्छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । यस हिसाबले यो साता नेप्सेको चार्टमा बियरिस प्रकृतिको प्यार्टन बनेको छ ।
मुभिङ एभरेजको आधारमा
मुभिङ एभरेज भनेको सेयरको मुल्य तथा सूचकलाई मुभ गर्दै एभरेज निकाल्ने विधिलाई बुझिन्छ । यो विधिमार्फत बजारमा विशेषगरी ५ दिने र २० , ५० दिने रेखाहरुको चाल हेर्ने गरिन्छ । यो विधि पूँजीबजार तथा डेरिभेटिभ बजारमा प्रयोग गरिन्छ । बजारको छोटो समयको चाल हेर्न छोटो समयको मुभिङ एभरेजन निकालिन्छ भने लामो समयको चाल नियाल्न लामो समय कै मुभिङ एभरेजन निकाल्ने गरिन्छ ।
बजारको अहिलेको अवस्थामा हेर्दा २०० दिने मुभिङ एभरेजमा सपोर्ट र ५० दिने मुभिङ एभरेजमा प्रतिरोध सामाना गरेको देखिन्छ । हालको बजारले २०० दिने रेखामा अर्थात २ हजार ६१६ विन्दुमा सपोर्ट लिन सक्छ । यो विन्दु भन्दा माथि रहुन्जेल बजार बुलिस नै हो ।

इचिमोकू क्लाउड
इचिमोकू क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए। प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्युज पेपरमा प्रकाशित भएको थियो। योसँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो । यस इन्डिकेटर अनुसार बजार साइड वेजमा चलेको देखिन्छ । यदि बजार क्वाउड भन्दा माथि चलेमा बुलिस र क्लाउडसँगै चलेमा साइडवेज तथा क्लाउड भन्दा तल चलेमा बियरिस मानिन्छ । हाल बजार क्लाउडसँगै चलेका कारण अहिलेको बजारलाई साइडवेज मान्न सकिन्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – २८८३
प्रतिरोध २ – २७८९
प्रतिरोध १– २७७३
पिभट् प्वइन्टः २७०६
घटेमा सपोर्ट
सपोर्ट १– २६७३
सपोर्ट २– २६२४
सपोर्ट ३ –२५९०

निष्कर्षः यो साता सेयर बजारमा करिब ६५ अंकले गिरावट आयो । अघिल्लो साता बजार ५२ अंकले बढेको थियो । प्राविधिक रुपमा हालको बजारले ५० दिने मुभिङ एभरेजमा प्रतिरोध सामना गरेको छ भने २०० दिने मुभिङ एभरेजमा सपोर्ट लिएको छ । यो साता बजार घट्दा कारोबार र भोल्युम भने बढेको छ । क्याण्डल स्टिकबाट नियाल्दा बियरिस इन्गल्फिङ प्याटर्न बनेको छ । यो साता बजार साप्ताहिक पिभट् प्वइन्ट २७०६ भन्दा तल खसेको छ । यस हिसाबले अब बजारले क्रमशः पहिलो, दोस्रो तथा तेस्रो विन्दुमा सपोर्ट लिन सक्छ । क्षेत्रगत रुपमा नियाल्दा यो साता म्युचुअल फण्ड र उत्पादन समूह बाहेक सबै समूहमा रातो पोतियो ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण लगानीका लागि सिफारिस भने होइन ।