काठमाण्डौ । नेपाली राजनीतिका नयाँ चतुर खेलाडी हुन् पुष्पकमल दाहाल(प्रचण्ड) । संसदीय राजनीतिको त्यति धेरै अनुभव नभए पनि राजनीतिका ठूला खेलाडीलाई समेत माथ खुवाउँदै प्रचण्डले सत्ताको खेलमा एकपछि अर्को बाजी मारिरहेका छन् । परिणामस्वरुप संघीय संसदको तेश्रो ठूलो शक्ति भएर पनि प्रचण्डले यो संसद गठन भएदेखि राष्ट्रिय राजनीतिलाई आफू वरिपरि घुमाउने सफलता पाइरहेका छन् । यो क्रमले फेरि निरन्तरता पाएको छ ।
गत संसदीय निर्वाचनमा प्रतिनिधिसभामा कुनै पनि दलले स्पष्ट बहुमत ल्याएनन् । यसैको सोझो फाइदा उठाउँदै प्रचण्डले राष्ट्रिय राजनीतिलाई आफ्नै वरिपरि घुमाइदिए, घुमाइरहेकै छन् ।
प्रतिनिधिसभामा कांग्रेसको ८९, एमालेको ७९, माओवादीको ३२, रास्वपाको २१ सिट छ ।
राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमत पार्टीको ६, स्वतन्त्र ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ३, मजदूर किसान पार्टी १ र राष्टिय जनमोर्चाको १ सिट रहेको छ।
यसरी हेर्दा प्रतिनिधिसभामा माओवादी तेश्रो शक्तिको रुपमा छ । चौथो शक्तिको रुपमा रवि लामिछाने नेतृत्वको रास्वपा छ ।
तेश्रो शक्ति भएरै प्रचण्डले कांग्रेस र एमालेलाई फनफनी घुमाइदिएका छन् । पहिला कांगे्रेसँग सहकार्य गरेर, त्यसपछि एमालेसहितका दलसँग सहकार्य गरेदेखि पुनः कांग्रेससँगै मिलेसम्म उनले आफू सत्तामा टिकिरहने माहौल बनाइरहे । कांग्रेस, एकीकृत समाजवादीसँग आलोपालो सरकार चलाउने सहमति गरेका प्रचण्डले आफूले सत्ता छाड्ने मिति नजिकिँदै गर्दा फेरि सत्ताको नयाँ गोटी चाले । र, एमाले, रास्वपासहितको गठबन्धन तयार गर्ने महत्वपूर्ण सफलता पाए ।
नयाँ सत्ता गठबन्धनमा भएको सहमतिअनुसार यो संसदको कार्यकाल रहुञ्जेल प्रधानमन्त्रीमा प्रचण्डलाई नै अवसर दिइनेछ ।
संसदको दोश्रो शक्ति एमालेसँग प्रचण्डले कम्युनिष्ट एकताको पासा फालेका कारण पार्टीलाई एक बनाउने र ठूलो दलको अध्यक्ष केपी ओलीले चलाउने सहमति भएको एमालेकै एक सचिवालय सदस्यले दाबी गरे ।
यो वा त्यो तुरुप फालेरै पनि प्रचण्डले फेरि पनि ढुक्क भएर प्रधानमन्त्री चलाउने वातावरण तयार गरेका छन् । यो अर्थमा समेत उनी पुनः चतुर खेलाडी सावित भएका छन् ।
तेश्रो शक्ति भएर पनि प्रचण्डले संसदको यो कार्यकालभरि नै प्रधानमन्त्री बन्ने दुर्लभ अवसर प्राप्त गर्ने सम्भावना देखिएको छ । विश्वको कुनै पनि संसदीय व्यवस्था रहेको मुलुकमा पूरा कार्यकालभर तेश्रो शक्तिले सत्तामा हालीमुहाली गरेको रेकर्ड छैन ।
प्रचण्डको दाउपेचको अगाडि केपी ओलीजस्ता चतुर खेलाडीहरु समेत नतमस्तक बन्ने गरेका छन् । राजनीतिक तिकडम र सत्ताको खेलमा कुशल खेलाडीको रुपमा देखिए पनि देशलाई समृद्धिको बाटोमा लैजाने विषयमा भने प्रचण्डको भूमिका दमदार छैन । बिग्रिएको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याउने मामलामा उनको राजनीतिक चतुरताले खासै काम गरेको छैन ।