काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्रिय स्तरको शाखा प्रमुख सम्मेलन मिति गत फागुन २५ गतेदेखि २७ गतेसम्म सौराहा, चितवनमा सम्पन्न गरेको छ ।
देशभरका कुल २८७ शाखा कार्यालयहरुका सम्पूर्ण शाखा प्रमुखहरु, प्रदेश प्रमुखहरु लगायत संस्थाको कर्पोरेट कार्यालयका विभागिय प्रमुखहरु, संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका अध्यक्ष एवं सञ्चालक समितिका सदस्य सहितको सहभागितामा उक्त सम्मेलन भएको संस्थाले जनाएको छ ।
उक्त सम्मेलन संस्थाको हाल सम्मकै ठूलो तथा भव्य मध्ये एक रहेको संस्थाले दाबी गरेको छ । उक्त अवसरमा संस्थाको सञ्चालक समितिका अध्यक्ष सुवर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले आ–आफ्नो तर्फबाट स्वागत मन्तव्य राखेका थिए ।
उक्त सम्मेलनमा संस्थाले आमन्त्रित गरेका त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा लघुवित्त विज्ञ डा. भरत सिंह थापाले लघुवित्तले गरिवी न्यूनिकरणमा गरेको योगदान, लघुवित्तको वर्तमान अवस्था, चुनौती र अबको लघुवित्तको बाटोको बारेमा प्रस्तुति दिएका थिए । उत्प्रेरक वक्ता रमण भट्टराईले सम्मेलनमा जिवन, जगत, काम र जिवनलाई कसरी सन्तुलनमा राख्ने भन्ने विषयमा सहभागी सम्पूर्ण कर्मचारीहरुलाई प्रेरणदायी प्रस्तुति दिएका थिए ।
उक्त शाखा प्रमुख सम्मेलनमा सहभागी भएका केहि शाखा प्रमुखहरुले लघुवित्तमा आफ्नो यात्रा, संर्घष र सफलतका विषयमा प्रस्तुति दिएका थिए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                