काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था ११ औं वर्ष पार गरेर १२ औं वर्षमा प्रवेश गरेको छ । विसं २०७१ असार १८ गतेबाट आफ्नो कारोबारको थालनी गरेको संस्थाले १२ औं वार्षिकोत्सव मनाएको हो ।
यस उपलक्ष्यमा संस्थाका १८५ वटै शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा काभ्रे बहिरा विद्यालयलाई खाद्यान्न तथा शैक्षिक सामाग्री हस्तान्तरण, रक्तदान कार्यक्रम,बृद्धाश्रमलाई सहयोग, सरसफाई कार्यक्रम, प्रहरी कार्यालयलाई सहयोग, परोपकारी संस्थालाई सहयोग, वित्तीय साक्षरताका कार्यक्रम साथै विभिन्न सामाजिक क्रियाकलपामा भाग लिई वार्षिक उत्सव मनाईएको संस्थाले जनाएको छ ।
संस्थाले यस अबधि सम्म ७४ जिल्लाका १८५ वटा शाखा कार्यालय मार्फत२ लाख ४६ हजार घर परिवारमा आफ्नो सेवाविस्तार गरी उनीहरूलाई रू.२५ अर्ब १५ करोड कर्जा लगानी गरेको साथै सदस्यहरूबाट करिव रू.७ अर्ब बचत परिचालन गरेको छ ।
गैर वित्तीय कार्यक्रममा ग्राहकहरुलाई वित्तीय साक्षरता, विभिन्न तालिम तथा उद्यमशिलता विकाश, ग्राहकहरुको प्रविधिमा पहुंच अभिबृद्धिका साथै डिजिटल बैकिङ सेवालाई प्रभावकारी बनाउदैै लगिने साथै सामाजिक क्रियाकलापलाई उच्च प्राथमिकतामा राखी असद्ध वढ्ने विषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामवहादुर यादवले जानकारी गराए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                