काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा कार्यकालसम्म रहने दाबी गरेका छन्।
सोमबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको समापन गर्दै सभापति देउवाले दुई ठूला दलबीच बनेको गठबन्धनमा कतिपय चुनौतीहरू आउनसक्ने भए पनि त्यसलाई समाधान गर्दै सरकार अघि बढ्ने बताए।
‘हामीसँग समस्या आउन सक्छन्, तर मिलाएर लैजाने हो। गठबन्धन सरकार पूरा समयसम्म जान्छ,’ उनले भने।
सभापति देउवाले संविधान संशोधनको मुद्दालाई सरकारले प्राथमिकताका साथ अघि बढाउने विश्वास पनि व्यक्त गरे। बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूको कार्यशैलीप्रति आलोचनात्मक टिप्पणी राखेका थिए।
तर देउवाले ती आलोचनात्मक धारणाप्रति कुनै प्रत्यक्ष प्रतिक्रिया नदिई सरकार स्थिर रुपमा सञ्चालन हुने आश्वासन मात्र दिएका थिए।
कांग्रेस–एमाले गठबन्धनको भविष्यबारे विभिन्न चर्चा भइरहेको बेला देउवाको यो अभिव्यक्ति अर्थपूर्ण मानिएको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                