काठमाण्डौ । भारतले सेमी कन्डक्टर क्षेत्रमा विश्वको अग्रेणी बन्ने महत्वाकांक्षी लक्ष्यका साथ सेमीकन्डक्टर परियोजनाको शिलान्यास गरेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीनवटा सेमीकन्डक्टर परियोजनाको शिलान्यास गरेका हुन् ।
शिलान्यासका क्रममा बोल्दै मोदीले भारतले पहिले नै अन्तरिक्ष,परमाणु उर्जा र डिजिटल क्षेत्रमा सफलता हासिल गरिसकेको र अब आउने दिनमा सेमीकन्डक्टर क्षेत्रमा समेत विश्वको पावर हाउस बन्ने बताए । यी परियोजनाबाट सबैभन्दा धेरै लाभा युवाहरुलाई हुने मोदीले बताएका छन् ।
भारतले सेमीकन्डक्टर विकास तथा उत्पादनका लागि ७६ हजार करोड भारु लगानी गर्ने योजना बनाएको छ ।
पछिल्लो समय सेमीकन्डक्टरको उपयोग व्यापक हुन थालेको छ । स्मार्ट फोन,एटीएम,अस्पताल,ल्यापटप,वासिंङ मेशिन कार,कम्प्युटर लगायतका प्रविधि तथा पूर्वाधारमा यसको उपयोग हुने गरेको छ । विश्वमा अहिले सेमीकन्डक्टरको अभावले डिजिटल अर्थतन्त्रलाई अवसर प्रदान गरेको छ ।
भारत सेमीकन्डक्टर चीपको विश्वको दोस्रो ठूलो आयातकर्ता देश हो । बितेको ३ वर्षमा भारतको सेमीकन्डक्टर चीपको आयात ९२ प्रतिशतले वृद्धि भएको छ । सन् २०२६ मा यो ८० अर्ब डलर र सन् २०३० सम्म ११० अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ । सेमीकन्डक्टर चीप उत्पादनका लागि ८५ हजार इन्जिनीयरको आवश्यकता पर्ने अनुमान गरिएको छ ।
अहिले विश्वमा इन्टेल,सामसुङ,ताइवान,ब्राडकम र एनभिडिया जस्ता कम्पनी तथा देश सेमीकन्डक्टर चीप उत्पादनमा अग्रेणी स्थानमा छन् । यो सिलिकनबाट बन्ने गर्छ ।