काठमाण्डौ । मोरङको विराटनगर स्थित नेरुडे लघुवित्त वित्तीय संस्था र काभ्रेपलाञ्चोकको बनेपा स्थित मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्पन्न भई बुधबारदेखि एकिकृत कारोबार शुरु भएको छ ।
दुई लघुवित्त वित्तीय संस्थाहरु एकआपसमा गाभिएपछि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू भएको हो ।
काठमाण्डौं स्थित होटल एल्लो प्यागोडामा एक समारोहकाबीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेलले पानसमा दीप प्रज्वलनसहित एकीकृत कारोबार शुभारम्भ समारोहका उद्घाटन गरेका थिए ।
एकीकृत कारोबार शुभारम्भ समारोहमा प्रमुख अतिथि पौडेलले मर्जरले दुई संस्था अझै सवल र अग्रणी बन्दै गएकोमा शुभकामना दिएका थिए । अबको दिनमा अवसरहरु सिर्जना हुँदै गएको अवस्थामा केही चुनौतीहरु पनि आउनसक्ने भएकोले त्यस्ता चुनौतीहरुलाई दुबै संस्थाको सवल पक्षहरुलाई आत्मसाथ गर्दै चिर्दै जानुपर्ने बताए । साथै अहिले बजारमा अनेक हल्ला र अफवाहहरु फैलिएको र कर्जा लिएपछि कुनै पनि हालतमा तिर्नै पर्छ, होला केही ऋणीहरुलाई समस्या परेको हुन सक्छ, यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले ऋणिहरुका लागि कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरणको सुविधाका लागि वित्तीय संस्थाहरुलाई निर्देशन पनि जारी गरिएको बताए ।
कार्यक्रममा अतिथिको रुपमा बोल्दै माइक्रो फाइनान्स एसोसियशन नेपालका अध्यक्ष जगतबहादुर पोखरेलले मर्जरमा समस्याहरु पनि हुन्छन् र राम्रा पक्षहरु पनि हुने र राम्रा पक्षहरुलाई लिएर अगाडि बढ्न सकेमा लघुवित्त वित्तीय संस्थाहरु नमुना बन्ने र बजारमा नकारात्मक तत्वहरुलाई कानुनी दायरामा ल्याउन नेपाल राष्ट्र बैंक र नेपाल सरकार अविलम्ब लाग्नुपर्ने र यसमा सबै वित्तीय संस्थाहरु एक्यबद्ध हुनुपर्नेमा जोड दिए ।
नेपाल लघुवित्त बैंकर्स एसोसिएशनका अध्यक्ष रामबहादुर यादवले अब लघुवित्तहरु बलियो बन्नका लागि मर्जर र एक्विजिशनको विकल्प नभएको र लघुवित्त वित्तीय संस्था परिष्कृत बनाउन राष्ट्र बैंकले मर्जरको राम्रो पोलिसी ल्याएको र अब सीमित लघुवित्त वित्तीय संस्थाहरु रहनुपर्नेमा जोड दिए ।
कार्यक्रममा साविक नेरुडे लघुवित्त वित्तीय संस्था लि.का संचालक समिति अध्यक्ष डा. भेषप्रसाद धमलाले अहिले लघुवित्त क्षेत्रमा ग्रहण लागेको अवस्थामा अब विस्तारै उज्यालो हुँदै जाने अपेक्षा गरे ।
दुई संस्था मर्ज गरी एक भएपछि बनेको कम्पनीको चुक्तापुँजी १ अर्ब ३९ करोड ७७ करोड ६४ लाख ५ सय ४५ रुपैयाँ पुगेको छ भने एकीकृत कारोबारपछि संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपा नगरपालिका वडा नं. ८ मा रहने भएको छ ।
मर्जर पश्चात दुबै संस्थाको गरी २६० भन्दा बढी शाखा सञ्जाल रहनेछ भने १,२०० भन्दा बढी कर्मचारीहरु सहित लघुवित्त क्षेत्रमा सबैभन्दा बढी कर्मचारी भएको संस्था बनेको छ ।

                
                
                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                