काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले पूँजीबजारको सुधार र विकासका विषयमा २ दिनभित्रमा सुझाव पठाइदिन लगानीकर्ता र अन्य सरोकारवालाहरुलाई आह्वान गरेको छ ।
एक सार्वजनिक सूचना जारी गर्दै धितोपत्र बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले अर्थमन्त्री वर्षमान पुनबाट नेपालको पूँजी बजारको सुधार तथा विकासमा चासो राख्दै यसका लागि तत्काल सुधार गर्नुपर्ने विषयहरु सम्बन्धमा सुझाव मागेको सन्दर्भमा लगानीकर्ता लगायत अन्य सरोकारवाला सर्वसाधारणहरुबाट सुझाव मागेको हो ।
बोर्डले पूँजी बजारको तत्काल सुधारका लागि गर्नुपर्ने कार्यान्वयनयोग्य सुझावहरु २ दिनभित्र बोर्डको इमेल ठेगानामा पठाइदिन पनि आग्रह गरेको छ ।
बोर्डले यसका लागि [email protected] इमेलमार्फत कार्यान्वयनयोग्य सुझाव पठाउन भनेको छ ।
अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा अर्थमन्त्रालयले केही दिनअघि बोर्ड लगायत पूँजीबजारका तीनवटा नियामक निकाय नेप्से र सिडीएसीलाई पत्र पठाउँदै ७ दिनभित्रमा बजार सुधारका लागि सुझावसहितको कार्ययोजना पठाउन निर्देशन दिएको थियो । त्यसकै तयारीमा रहेको बोर्डले सर्वसाधारण लगानीकर्ताबाट पनि सुझाव मागेको हो ।
बोर्ड, नेप्से र सिडिएसीले अर्थमन्त्रालयमा संयुक्त रुपमा कार्ययोजना बुझाउने तयारी स्वरुप लगानीकर्ताबाट पनि मागिएको हो ।
बोर्डबाहेक नेप्से र सिडीएसीले पनि आ-आफ्नो ढंगले तत्काल बजार सुधारका कार्ययोजनाहरु तयार गरिरहेका छन् । अर्थमन्त्रालयले तोकेको समयभित्रै एकीकृत कार्ययोजना बुझाउने उनीहरुको तयारी छ ।