काठमाण्डौ । महाराजगञ्जस्थित शितल निवासमा जेनजी आन्दोलनकारीहरुसँग वार कि पारको वार्ता सुरु हुँदैछ ।
अहिले निकै संवदेनशील र महत्वपूर्ण मानिएको फाइनल वार्ताका लागि जेनजी अभियन्तादेखि अन्तरिम सरकारको प्रधानमन्त्री प्रस्तावित सुशीला कार्की, सुरक्षा निकायका प्रमुखहरु शितल निवास पुगिसकेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन नहुने स्पष्ट धारणासहित फाइनल वार्ता गर्न भन्दै सुशीला कार्की लगायतका जेनजी अभियन्ताहरुलाई शितल निवास बोलाएका स्रोतहरुको दाबी छ ।
कुरा मिल्ने संकेत देखिएपछि दिनभर ‘सहमति हुने भए मात्र मलाई शितल निवास बोलाउनू’ भनेकी सुशीला कार्की समेत आउन तयार भएको स्रोतको दाबी छ ।
राष्ट्रपतिका सल्लाहकारहरुले आज दिनभर थुप्रै साइडलाइन वार्ताहरु गरेका थिए । केही जेनजनी अभियन्ताहरु सोझै राष्ट्रपतिसँग कुरा गर्ने अडानमा बसे पनि अरु भने सेनाका विभिन्न ब्यारेकमा पुगेर राष्ट्रपतिका प्रतिनिधि र सेनापतिका प्रतिनिधिहरुसँग वार्ता गरेका थिए । सो क्रममा कुनै न कुनै सहमति निस्किएको स्रोतको दाबी छ । त्यही सहमतिलाई अन्तिम रुप दिन शितल निवासमा सबै पक्ष भेला भएका हुन् ।
शितल निवासको फाइनल भनिएको छलफलमा राष्ट्रपतिकै सहभागिता हुने र ठोस राजनीतिक निकास निस्किने आशा गरिएको छ ।
भनेजसरी कुरा मिलेको खण्डमा प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीको नियुक्ति र सपथ आजै हुनेछ ।
सहमति नभए संकटकाल !
यसैबीच, शितल निवासस्थित अर्को एक स्रोतले भने आजको छलफलबाट पनि निश्कर्ष ननिस्किए विषम परिस्थितिमा पुगेको मुलुकमा संकटकाल लगाउनेसम्मको मनस्थितिमा राष्ट्रपति पुगिसकेका दाबी गरेको छ ।
सेनाले पनि राष्ट्रपतिसँगको ब्रिफिङमा पटक–पटक लामो समयसम्म सेना बिनानिर्णय सक्रिय भइरहन अप्ठ्यारो हुने बताइरहेको छ । सेनाले आफ्नो पोजिसन क्लियर गरिदिन निरन्तर दवाब सिर्जना गरिरहेका कारण समेत कुरा नमिलेको खण्डमा मुलुकलाई थप संकटमा जान नदिन राष्ट्रपतिले संकटकालको घोषणा गरी सेनालाई प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय लिनसक्छन् ।
यिनै जोखिमहरुमा मुलुकलाई पर्न दिनुअघि नै सबै पक्ष जिम्मेवार भएर छलफलमा बस्नुपर्ने आवश्यकता समेत देखिएको छ । तर, सहमति कसरी हुन्छ भन्ने विषय हालसम्म अन्यौलमै छ ।
जेनजी अभियन्ता र सुशीला कार्कीले संसद विघटन, सोमबार र मंगलबारको घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग र नेताहरुको अकूत सम्पत्ति आर्जन तथा भ्रष्टाचारको विषयमा छानिबन गर्न समेत आयोग गठनलाई आफ्नो बटमलाइन बनाएका छन् । यही विषयमा शुक्रबार दिउँसोसम्म राष्ट्रपति सहमत हुन सकिरहेका थिएनन् ।
सुरक्षा प्रमुख पनि शितल निवासमा
यसैबीच, छलफलमा कुरा नमिलेको अवस्थामा राष्ट्रपतिबाट आउनसक्ने अप्रत्यासित आदेश र बढ्नसक्ने सुरक्षा चुनौतिको विश्लेषण गर्न नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, प्रधान सेनापति अशोक सिग्देल, गुप्तचर प्रमुख लगायत पनि अहिले शितल निवासमै रहेका छन् ।