काठमाण्डौ । बिपी राजमार्ग कात्तिक १३ र १४ गते राति बन्द हुने भएको छ । जिल्ला जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सूचना जारी गर्दै बिपी राजमार्ग अन्तर्गतको खुर्कोटबजार, सिन्धुली जिल्लाबाट काठमाण्डौतर्फ जाने सवारी साधन आवागमन निषेध गरिएको जनाएको हो ।
उक्त सडकखण्डमा साँझ ५ बजे देखि बिहान ५ बजेसम्मको समयका लागि सवारी आवागमन बन्द हुने सूचनामा उल्लेख छ ।
साथै, दिउँसोको समयमा भारी वर्षाको अवस्थामा सुरक्षा निकायले जुनसुकै स्थानमा (सुरक्षित रहने गरी) सवारी साधन रोक्न सक्नेछ । विशेष गरी बिपी राजमार्ग र मध्यपहाडी राजमार्गमा सवारी साधन सञ्चालन गर्दा बर्षा भइरहेको अवस्थामा सवारी साधन नचलाउन आग्रह समेत गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कात्तिक ११ गते प्रकाशित उच्च सर्तकताका लागि अनुरोध गरिएको सूचना बमोजिम यहि कार्तिक १३ गते देखि १५ गतेसम्म यस क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ ।

