काठमाण्डौ । उमेरले ७३ वर्ष कटिसकेका एक पुराना बैंकरलाई प्रमुख कार्यकारी अधिकृत बनाउनका लागि नेपाल राष्ट्रबैंकले तोकेको उमेर हदसम्बन्धी व्यवस्था संसोधनमा चलखेल भइरहेको खुलेको छ ।
ग्लोबल आईएमई बैंकबाट राजीनामा गरी हाल खालि बसेका पुराना बैंकर रत्नराज बज्राचार्यलाई पुनः एक वाणिज्य बैंकको सीईओ बनाउनका लागि राष्ट्रबैंकले गरेको उमेर हदसम्बन्धी व्यवस्था संसोधन गर्ने चलखेल भइरहेको हो ।
बज्राचार्यको उमेर अहिले ७३ वर्ष पुगिसकेको छ । नेपाल राष्ट्रबैंकले ६ वर्षअघि नै एउटा सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुको सीईओकालागि ६५ वर्ष र सञ्चालकका लागि ७० वर्षको उमेर हद तोकेको थियो । सोही व्यवस्थाका कारण पुनः सीईओ हुन अप्ठ्यारो परेपछि बज्राचार्यले केही कांग्रेसका नेता, केही बैंकरहरुलाई प्रयोग गरेर राष्ट्रबैंकमा सो व्यवस्था संसोधनका लागि निरन्तर दवाब दिइरहेका उच्च स्रोतको दाबी छ ।
खासमा अबको २ वर्षपछि रिक्त हुन लागेको हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा एउटा संस्थापक समूहले बज्राचार्यलाई लैजाने तयारी अहिलेदेखि नै सुरु गरिसकेको छ । त्यसकै लागि हिमालयन बैंकका सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले कांग्रेस नेता उमेश श्रेष्ठ र बज्राचार्यलाई लिएर केही साताअघि नेपाल राष्ट्रबैंकका गभर्नर विश्वनाथ पौडेललाई भेट्न गएका थिए । सो भेटको प्रमुख अजेण्डा नै क्षमतावान व्यक्तिलाई उमेरहद लगाउन नहुने भन्दै सो सम्बन्धी केन्द्रीय बैंकको यसअघिको व्यवस्था संसोधन गर्ने भन्ने रहेको एक सहभागीले जानकारी दिए ।
'सो छलफलमा गभर्नर सा/बले पनि उमेरहद सम्बन्धी व्यवस्था संसोधन गर्दा केही फरक पर्दैन भन्नुभएको थियो । क्यापेबल व्यक्तिका लागि उमेर हद तोकिनु हुँदैन भन्ने उहाँको धारणा थियो ।' सो छलफलमा सहभागी एक स्रोतले भन्यो- 'पछि राष्ट्रबैंककै सम्बन्धित निकाय र अन्य कर्मचारीले उमेर हदसम्बन्धी व्यवस्था संसोधन गर्न नहुने सुझाव गभर्नर साबलाई दिएछन् । त्यसपछि उहाँले हुन्छ भनेको काम पनि गर्नुभएन ।'
हिमालयन बैंकका हालका सीईओ अशोक राणाको कार्यकाल सकिन अब करिब २ वर्ष बाँकी छ । बैंकिङ उद्योगमा राम्रो ब्राण्ड बनाएको यो बैंकको भावी नेतृत्वका लागि बैंकभित्रका विभिन्न समूहहरुले अलग–अलग प्रयास थालेका देखिएको छ।
सो बैंकमा सञ्चालक समितिका अध्यक्ष श्रेष्ठ नेतृत्वको समूह र राणा नेतृत्वको समूहबीच लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । आगामी सीईओ कसलाई बनाउने भन्ने तयारीको विषयमा समेत दुवै पक्ष आ-आफ्नै ढंगले अगाडि बढिरहेका देखिएको छ।
यो क्रममा श्रेष्ठ समूहको पहिलो रोजाई रत्नराज बज्राचार्य देखिएका छन् । यो समूहले राष्ट्रबैंकलाई सक्दो दवाब दिएरै भए पनि उमेर हदसम्बन्धी व्यवस्था संसोधन गर्ने र बज्राचार्यलाई सीईओको रुपमा ल्याउन चाहेको छ।
उता, राणा समूहले भने राम्रो ब्याकग्राउण्ड भएको कुनै युवा बैंकरलाई बैंक सुम्पिनुपर्ने लाइनमा छ । यसका लागि केही खालि युवा बैंकरहरुसँग कुराकानी पनि भइरहेको स्रोतहरुले दाबी गरेका छन् ।
उमेर हदसम्बन्धी व्यवस्था
२०७६ साउन २० गते एकीकृत निर्देशन जारी गर्दै राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाका सीईओ/सञ्चालकहरुको उमेर हद लागू गरेको थियो ।
तर, केही बैंकरहरु तत्कालै राष्ट्र बैंकको निर्देशनविरुद्ध सर्वोच्च अदालतमा गए ।


प्राइम कमर्सियल बैंकका तत्कालीन सीईओ नारायणदास मानन्धर, नबिल बैंकका तत्कालीन अध्यक्ष स्व. शम्भुप्रसाद पौडेललगायतको मुद्दामा सुनुवाइ गर्दै तत्काल उमेर हद लागू नगर्न र कानुन बनाएर मात्र लागू गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।

राष्ट्रबैंकले जारी गरेको निर्देशनमा भने ६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको सीईओ नियुक्त/पुनः नियुक्त हुन नसक्ने र ६९ वर्ष नाघेको व्यक्ति सीईओको रुपमा बहाल रहन नसक्ने व्यवस्था छ । तर, गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको सीईओमा नियुक्त/पुनः नियुक्त हुन बाधा नपर्ने उल्लेख छ ।
त्यसैगरी निर्देशनमा ७० वर्ष नाघेको व्यक्ति वित्तीय संस्थाको सञ्चालक पदमा नियुक्त/पुनः नियुक्त तथा मनोनीत हुन नसक्ने र ७४ वर्ष नाघेको व्यक्ति सञ्चालक पदमा बहाल रहन नसक्ने व्यवस्था छ । तर, गाम्ने/गाभिने संस्था भए पनि सञ्चालकका लागि थप व्यवस्था केही गरिएको छैन ।

