काठमाण्डौ। समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजकका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले संयोजनका लागि प्रथमपटक फागुन १४ गते र दोस्रोपटक चैत ७ गते दरखास्त आह्वान गरेको थियो ।
माग गरिएको उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नाकोत्तर गरेको र बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञ हुनुपर्ने जनाइएको छ ।
संयोजकको सेवाअवधि १ वर्ष (आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६/६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने)को हुनेछ। दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ३५ वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।
परीक्षाको किसिम कार्ययोजना तथा सोको प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ। दरखास्त स्वीकृत भएका उम्मेदवारको नामावली, कार्ययोजना प्रस्तुतीकरणको समयतालिका र अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारको सूची तथा समयतालिका बैंकको वेवसाइटमा प्रकाशन गरिने छ। पारिश्रमिक तथा अन्य सुविधा रु९ १ लाख २६ हजार ३०० मासिक पारिश्रमिक (नियमानुसारको करसहित) प्रदान गरिनेछ। दशैं खर्चबापत एक महिनाको पारिश्रमिकबराबरको रकम प्रदान गरिनेछ।
सोबाहेक अन्य कुनै प्रकारको भत्ता प्रदान नगरिने सूचनामा उल्लेख गरिएको छ । भइपरी आउने बिदा वार्षिक १२ दिनसम्म पाइने जनाइएको छ ।
दरखास्त फाराम छनौट समितिको सचिवालयमा पेस गर्नुपर्नेछ। दरखास्त फाराम र सोका साथ पेस गर्नुपर्ने विवरण,व्यावसायिक कार्ययोजनाको ढाँचा तथा कार्यादेशसम्बन्धी जानकारी छनौट समितिको सचिवालयबाट उपलब्ध हुनेछ।