काठमाण्डौ । एयरबसले आफ्ना ए३२० श्रृंखलाका यात्रुवाहक विमानमा धातुको प्यानलसम्बन्धी नयाँ समस्या पत्ता लागेको जनाएको छ। कम्पनीका प्रवक्ताका अनुसार यो समस्या केही सीमित विमानहरूमा मात्र देखिएको हो र यसको स्रोत पहिचान र नियन्त्रण गरिएको छ। नयाँ उत्पादन भएका सबै प्यानलहरू भने आवश्यक मापदण्डअनुसारै रहेको एयरबसले जनाएको छ।
यो समाचार सार्वजनिक भएपछि एयरबसको सेयरमूल्य ५.७ प्रतिशतले घटेको छ । यसअघि एयरबसले अर्को महत्त्वपूर्ण कमजोरी खुलेको स्वीकार गरेको थियो।
कम्पनीका अनुसार तीव्र सौर्य विकिरणले ए३२० विमानको महत्त्वपूर्ण उडान नियन्त्रण डेटा भ्रष्ट बनाउन सक्छ, जसले पाइलटहरूले विमानमाथि नियन्त्रण गुमाउने जोखिम पैदा गर्न सक्छ।
यो कमजोरीकै कारण अक्टोबर ३० मा जेटब्लु फ्लाइट१२३० मा आकस्मिक घटना भयो। क्यानकुनबाट न्यूयोर्कतर्फ गइरहेका बेला विमान अचानक तल झरेको थियो, जसका कारण पाइलटले टाम्पा, फ्लोरिडामा आपतकालीन अवतरण गर्नुपरेको थियाृ। सो घटनामा करिब १५ जना यात्रु घाइते भएका थिए।
सौर्य विकिरणसम्बन्धी त्रुटि पत्ता लगाएपछि विश्वभरका एयरलाइन्सले लगभग ६ हजार ए३२० विमानमा आकस्मिक सफ्टवेयर अपडेट गर्नुपरेको थियो। एयरबसका अनुसार अब धेरैजसो विमानमा आवश्यक परिवर्तन पूरा भइसकेको छ र १०० भन्दा कम विमानमा मात्रै सुधार बाँकी छ।

