काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटाउने निर्णय गरेको छ । संघले फार्महरूबाट प्राप्त दररेटलाई एकीकृत गरी आजदेखि लागू हुने गरी नयाँ मूल्य सार्वजनिक गरेको हो ।
नयाँ मूल्यसूचीअनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६५ रुपैयाँबाट घटेर ४७५ रुपैयाँमा झरेको छ । यस्तै, मिडियम अण्डाको मूल्य ५५० रुपैयाँबाट घटेर ४६० रुपैयाँ कायम गरिएको सङ्घले जनाएको छ । यससँगै उपभोक्ता मूल्य पनि प्रतिगोटा २५ रुपैयाँबाट घटाएर २० रुपैयाँ तोकिएको छ ।
संघका अनुसार ठूला फार्महरूबाट लिइएको दररेटका आधारमा समर्थन मूल्य निर्धारण गरिएको हो । जाडो मौसमका कारण उपत्यका तथा हिमाली भेगमा विद्यालय बन्द हुनु, समग्र गतिविधि कम हुनु, पर्यटकको आगमन घट्नु र कुखुरा बिक्री नगरी अण्डा उत्पादन बढ्नुजस्ता कारणले अण्डाको खपत घट्दै गएकाले मूल्य घट्न पुगेको हो् ।
संघले बजारको अवस्था र माग–आपूर्तिको आधारमा अण्डाको समर्थन मूल्य समय–समयमा समायोजन गर्दै आएको जनाएको छ ।

