काठमाण्डौ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपाली बजारमा आफ्ना सेवाहरू विस्तार गर्दै याङ्गो एपमार्फत ‘याङ्गो डेलिभरी’ सेवा सुरु गरेको छ। काठमाण्डौभित्र पार्सल तथा सामान ढुवानीका लागि लक्षित यो सेवाले व्यक्ति–व्यक्ति तथा साना तथा मध्यम व्यवसायका लागि छिटो, सहज र प्रभावकारी समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ।
नयाँ सेवासँगै याङ्गो एपमार्फत अब राइड–हेलिङ र डेलिभरी सेवा एकै प्लेटफर्ममा उपलब्ध भएको छ, जसले काठमाण्डौका बासिन्दा तथा आगन्तुकहरूको दैनिक आवागमन र ढुवानी आवश्यकतालाई अझ सरल बनाउने अपेक्षा गरिएको छ।
याङ्गो डेलिभरी अन्तर्गत प्रयोगकर्ताहरूले आवश्यकताअनुसार तीन प्रकारका डेलिभरी विकल्प छनोट गर्न सक्नेछन्—
मोटो कुरियरः कागजात तथा साना प्याकेजका लागि
कार कुरियरः मध्यम आकारका सामानका लागि
कार्गो सेवाः ठूला तथा भारी सामान ढुवानीका लागि नयाँ विकल्प
शहरी जीवनशैलीसँगै साना व्यवसायहरूमा द्रुत र भरपर्दो ढुवानी सेवाको माग बढिरहेको सन्दर्भमा, यी इन–एप विकल्पहरूले व्यक्ति तथा व्यवसाय दुवैलाई शहरभित्र सामान ढुवानी गर्न सहज बनाउने उद्देश्य राखिएको कम्पनीको भनाइ छ।
याङ्गो डेलिभरीका दक्षिण एशियाका क्षेत्रीय प्रमुख मोहम्मद अहसान अकबरका अनुसार, ‘हाम्रो लक्ष्य काठमाण्डौमा सामान पठाउने र प्राप्त गर्ने प्रक्रियालाई अझ सरल बनाउनु हो। प्रयोगकर्ताहरूले आफ्नो आवश्यकता अनुसार उपयुक्त डेलिभरी विकल्प छनोट गर्न सकून् भन्ने सोचका साथ यो सेवा ल्याएका हौँ। सानो प्याकेजदेखि ठूलो सामानसम्म—प्रक्रिया सरल छ, एप खोल्नुहोस्, विकल्प छान्नुहोस् र डेलिभरी अनुरोध गर्नुहोस्।’
यो सेवा कागजात र साना पार्सलदेखि मध्यम आकारका सामान तथा ठूला खरिद सामग्रीसम्म ढुवानी गर्न उपयुक्त बनाइएको छ। विशेष गरी नयाँ रूपमा सुरु गरिएको कार्गो विकल्पले काठमाण्डौभित्र भारी तथा ठूलो आकारका सामान ढुवानीलाई अझ सहज बनाउने कम्पनीले जनाएको छ।
याङ्गो डेलिभरीले उन्नत रुटिङ र ब्याचिङ एल्गोरिदम प्रयोग गरी ढुवानी प्रक्रियाको कार्यक्षमता वृद्धि गर्नेछ। यस प्रविधिले सवारी साधनको अधिकतम उपयोग सुनिश्चित गर्दै ट्राफिक अवस्थाको बाबजुद समयमै डेलिभरी हुने दर सुधार गर्ने अपेक्षा गरिएको छ। साथै, सबै डेलिभरीहरू लाइभ ट्र्याकिङ सुविधामार्फत निगरानी गर्न सकिने भएकाले पारदर्शिता कायम हुने कम्पनीले जनाएको छ।
याङ्गो डेलिभरीले आफ्नै सवारी वा कुरियर सञ्चालन नगरी स्थानीय नेपाली यातायात कम्पनीहरूसँग सहकार्य गर्ने मोडेल अपनाएको छ। यसको उद्देश्य स्थानीय साझेदारहरूलाई डिजिटल प्रविधिमार्फत सशक्त बनाउँदै अन्तिम माइल डेलिभरीको कार्यक्षमता सुधार गर्नु हो। यसले साझेदार चालकहरूका लागि आम्दानीका थप अवसरहरू सिर्जना गर्ने विश्वास लिइएको छ।
उल्लेखनीय छ, याङ्गो ग्रुपले मे २०२५ मा ‘याङ्गो’ सिटी सर्भिसेस एपमार्फत नेपाली बजारमा प्रवेश गरेको थियो। परीक्षण चरणमा राइड–हेलिङ सेवा सुरु गरिएकोमा हाल एपमार्फत राइड–हेलिङ र डेलिभरी दुवै सेवाहरू उपलब्ध छन्। कम्पनीले काठमाण्डौमा द्रुत, भरपर्दो र प्रविधिमैत्री डेलिभरी सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।