काठमाण्डौ । विषम परिस्थितीमा समेत नबिल बैंक लिमिटेडले लाभांश क्षमता वृद्धि गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लाभांश क्षमता २२.५० प्रतिशत पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म भने बैंकको लाभांश क्षमता ९.३८ प्रतिशत मात्रै थियो ।
यसले बैंकको व्यवसायिक रणनीति सबल बन्दै गएको र आर्थिक अवस्थामा सुधार गर्दै लगानीकर्तालाई आकर्षक प्रतिफल दिन सक्षम रहेको संकेत गरेको छ ।
यस्तै बैंकको वितरणयोग्य मुनाफा समेत ७३.०१ प्रतिशतले बढेको छ । अघिल्लो आवमा १ अर्ब ८९ करोड रहेको वितरणयोग्य मुनाफा बढेर ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।
बैंकका अन्य सूचकहरुमा समेत राम्रो प्रगति भएको देखिएको छ । बैंकले खुद ब्याज आम्दानी बढाउँदै नाफामा सेमत सुधार गरेको छ । बैंकले ४ अर्ब ७५ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशतले बढी हो ।
यस्तै अघिल्लो आवमा ७ अर्ब ८९ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको खुद सञ्चालन आम्दानी १० अर्ब ६८ करोड र सञ्चालन मुनाफा ६ अर्ब ५७ कररोड रुपैयाँ रहेको छ ।
बैंकको इम्पेयरमेन्ट चार्ज ४ करोड ८८ लाख रुपैयाँले रिभर्सल भएको छ । यस्तै बैंकको ग्रस एनपीएल ४.९३ प्रतिशतबाट घटेर ४.२५ प्रतिशत र नेट एनपीएल पनि १.७० प्रतिशतबाट घटेर ०.८८ प्रतिशतमा सीमित बनेको छ । बैंकको कस्ट अफ फण्ड समेत ४.८१ प्रतिशतबाट झरेर ३.६२ प्रतिशतमा खुम्चिएको छ ।
दोस्रो त्रैमाससम्म बैंकको रिजर्भमा ३३ अर्ब ४२ करोड रुपैयाँ र रिटेन्ड अर्निङ कोषमा ३ अर्ब २७ करोड रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २४.०५ रुपैयाँबाट बढेर ३५.०४ प्रतिशत कायम भएको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ २३५.६४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ५७६.१४ रुपैयाँ र तरलता अनुपात २९.६० प्रतिशत रहेको छ ।

