काठमाण्डौ । आज अप्रिल महिनाको पहिलो दिन अर्थात अप्रिल फुल । अप्रिल फुलको प्रचलन १८ औं शताब्दी भन्दा पहिले देखि चलेको पाइन्छ । अप्रिल फुलको अर्थ अरुलाई मूर्ख बनाउनु भन्ने हो । किबंदन्ति अनुसार फ्रान्समा पहिले अप्रिलको पहिलो दिनलाई नयाँ वर्षको रुपमा मनाइन्थ्यो । पछि जनवरी १ लाई नयाँ वर्ष मनाउन थालियो । आठारौं शताब्दीमा केही मान्छेहरुले भूलबस अप्रिल १ मा नै नयाँ बर्ष मनाए । तीनै मान्छेहरुलाई गिजाउन अप्रिल फुलको कथा सरु भएको किबंदन्ति पढ्न र सुन्न पाइन्छ । युरोपमा अहिले पनि अप्रिल फुल मनाउन हुँदै नभएको मिटङमा बोलाउने जस्ता झुटका खेति यो दिन हुने गर्छ ।
तर नेपालको सेयरबजारमा हेर्नेहो भने यस्ता झुटका खेति दिनहुँ हुने गरेको पाइन्छ । यस्तो झुटको खेति खासगरि सरकार, नियामक निकाय तथा टाठाबाठा लगानीकर्ताहरुले सोझा सोझालाई गर्ने गरेको पाइन्छ । पछिल्लो समय सामाजिक सञ्जालको विकास भए पछि लगानीकर्तालाई झुक्काउन टाठाबाठालाई यो बजारमा झनै सजिलो भएको छ ।
कसरी झुकिन्छन लगानीकर्ता ?
पछिल्लो पल्ट बजार ३२ सय बाट खसे पछि त लगानीकर्ता झनै मूर्ख बनाइएको छ । बजार ४ पटक २२ सयमा पुगेर खस्यो । यसको अर्थ लगानीकर्ता ४ पल्ट नै यो विन्दुमा मूर्ख बनाइयो । बजारमा विभिन्न तानाबाना बुनेर लथानीकर्तालाई फसाइने गरिन्छ । यसका लागि बजारमा अनेक हल्ला फैलाइन्छ । कहिले सरकार फेरिने, कहिले नया अर्थ मन्त्री आउने , कहिले कम्पनीको हकप्रद तथा बोनस सेयर आउने , कहिले २ वटा कम्पनी मर्ज तथा प्राप्ती गर्ने जस्ता अनेक हल्ला सेयर बजारमा चल्छन् ।
यस्तै निराधार हल्लाका पछि लाग्दा लगानीकर्ता फस्ने गर्छन । पछिल्ला वर्षहरुमा राष्ट्र बैंकको नीतिले घटेको बजारमा राष्ट्र बैकको समीक्षा आउने बेलामा त हरेक त्रैमासमा लगानीकर्ताहरुलाई राम्रै सँग झुक्काइने गरेको पाइन्छ । केही टाठाबाठा र पहुँच हुनेहरु अर्थमन्त्रीलाई भेट्न जान्छन् । त्यसपछि सामाजिक सञ्जालमा फोटा हालिन्छ र भनिन्छ अब आउने त्रैमासमा पक्का नीति फेरिेन्छ । यही विश्वास गरेर सोझा साझाले लगानी बढउने गर्छन । तर नीतिमा भने खासै फेरबलद हुँदैन ।
त्यस पछि २२ सय पुगेको बजार १८ सयमा आँउछ । फेरी यहि प्रक्रिया चल्छ बजार २२ सय पुग्छ अनि फेरी उधारोमा सेयर किन्ने काम हुन्छ । त्यस पछि ब्रोकरले च्याप्न थाल्छ । सबैले बेच्दा बेच्दा बजार १८ सय आँउछ । पछिल्लो समय केही सिमेन्ट कम्पनीहरुमा पनि यस्तै खेलोमेलो चलेको छ । झुक्काउने अझै अर्को सजिलो तरिको पनि छ । केही टाठाबाठाहरुले झुक्याउने साधनका रुपमा सामाजिक सञ्जाल प्रयोग गरेको पाइन्छ । यसका लागि क्लबहाउस तथा फेसबुकमा एउटा ग्रूप बनाइन्छ । त्यहाँ एउट समूहले कम्पनीको जोड्दार विज्ञापन गरेर सेयरको भाउ उचाल्ने र पछार्ने काम हुन्छ ।
त्यहाँ आफुलाई बजारको विद्धान भन्न रुचाउने तथाकथित सेयर बजारका वरिष्ठ लगानीकर्ताले म्यानीपुलेशन गर्दै लगानीकर्ताको ब्रेनवास गर्ने गर्छन । यस्तो नाटकमञ्चन खुलमखुल्ला हुँदा पनि नियमनकारी निकाय भने बेखर झै हुने गरेको छ । नियमनकारी निकायहरुले पनि यसलाई अप्रिल फुलको एक हिस्साको रुपमा लिदै मौनता साधेको देखिन्छ । सामाजिक सञ्जालमा चर्चा बटुलेका यस्ता तथाकिथत विद्धानलाई गुरु र लगानीको मार्गप्रदर्शक मान्नेको कमी छैन यहाँ । गुरु मानेर ढोग्नेहरु श्री सम्पत्ति गुमाएर सडकमा नआए सम्म सेयरबजारमा संधै चल्ने यस्ता अप्रिल फूल उनीहरुले बुझ्दैनन् वा बुझ्न चाहदैनन् । लगानीकर्ताको आखाँमा बाधिएको यस्ता अज्ञानताका काला पट्टीहरु नउघ्रिएसम्म लगानीकर्ता अप्रिल फुलको सिकार भईरहने छन् ।