काठमाण्डौ । जनवरी महिनामा एशियाका अधिकांश देशहरूको औद्योगिकध गतिविधि विस्तार भएको निजी क्षेत्रका सर्वेक्षणहरूले देखाएका छन्। विश्वव्यापी माग बलियो रहँदा निर्यात अर्डर बढेको र अमेरिकी भन्सार शुल्क (ट्यारिफ) वृद्धिको असर हालका लागि कम भएको संकेत यसले दिएको छ।
जापान र दक्षिण कोरियामा उत्पादन क्षेत्र बहुवर्षीय उच्च दरमा पुगेको छ। अमेरिकाजस्ता ठूला बजारहरूमा माग कायम रहँदा एशियाका प्रमुख निर्यातमुखी अर्थतन्त्रहरूको सम्भावना उज्यालिएको विश्लेषकहरूले बताएका छन्।
क्यापिटल इकोनोमिक्सका एसिया अर्थशास्त्री शिवान टण्डनका अनुसार हालका महिनाहरूमा अधिकांश देशहरूको निर्यात तीव्र रूपमा बढेको छ र निकट भविष्यमा एसियाका निर्यातमुखी उत्पादन क्षेत्रहरूको अवस्था सकारात्मक देखिन्छ।
चीनमा एस एण्ड पी ग्लोबलद्वारा तयार गरिएको रेटिङ चाइना जनरल म्यानुफ्याक्चरिङ पर्चेजिङ म्यानेजर्स इन्डेक्स(पीएमआई) जनवरीमा ५०.३ मा पुगेको छ, जुन डिसेम्बरको ५०.१ भन्दा माथि हो। यो अक्टोबरयताकै उच्च स्तर हो र उत्पादन विस्तार जनाउने ५० को सीमाभन्दा माथि रहेको छ। यो तथ्यांकले कमजोर घरेलु उपभोगलाई निर्यात वृद्धिले केही हदसम्म सन्तुलनमा राखेको देखाउँछ। चीनको अर्थतन्त्र गत वर्ष ५.० प्रतिशतले विस्तार भएको थियो।
जापानको एस एण्ड पी पीएमआई जनवरीमा ५१.५ पुगेको छ, जुन डिसेम्बरको ५०.० भन्दा उल्लेखनीय रूपमा माथि हो। यो अगस्ट २०२२ यताकै सबैभन्दा बलियो स्तर हो। एस एण्ड पी ग्लोबल मार्केट इन्टेलिजेन्सकी अर्थशास्त्री एनाबेल फिड्सका अनुसार जापानको उत्पादन उद्योगले सन् २०२६ को सुरुआतमै पुनः वृद्धि मार्ग समातेको छ।
दक्षिण कोरियाको पीएमआई पनि जनवरीमा ५१.२ पुगेको छ, जुन डिसेम्बरको ५०.१ भन्दा माथि र अगस्ट २०२४ यताकै उच्च स्तर हो।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अमेरिकी ट्यारिफको असर कम हुँदै गएको र एआई क्षेत्रमा भइरहेको लगानी वृद्धिका कारण सन् २०२६ का लागि विश्व आर्थिक वृद्धिदरको पूर्वानुमान बढाएको छ।
यसैबीच, ताइवानको पीएमआई ५१.७ र इन्डोनेसियाको ५२.६ पुगेको छ। मलेसिया, फिलिपिन्स र भियतनाममा पनि जनवरीमा उत्पादन गतिविधि विस्तार भएको देखिएको छ।
भारतमा भने उत्पादन गतिविधि सामान्य रूपमा बढे पनि व्यवसायिक आशावाद र रोजगारी सिर्जनामा उल्लेखनीय सुधार देखिएको छैन।

