काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेख्य नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाको खुद नाफा वार्षिक आधारमा ८० प्रतिशतभन्दा बढीले बढे पनि खराब कर्जा अनुपातमा आएको वृद्धिले संस्थाको जोखिम व्यवस्थापनतर्फ चुनौती देखिएको छ।
समीक्षा अवधिमा संस्थाले ४४ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको २४ करोड ५६ लाख रुपैयाँको तुलनामा ८०.२९ प्रतिशतले बढी हो। ब्याज आम्दानीमा सुधार र सञ्चालन मुनाफाको विस्तारले नाफा वृद्धिलाई टेवा पुर्याएको देखिन्छ।
संस्थाको खुद ब्याज आम्दानी ६.६७ प्रतिशतले बढेर १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ८५ करोड ४१ लाख रुपैयाँबाट बढेर १ अर्ब १६ करोड रुपैयाँ नाघेको छ। यद्यपि, शुल्क तथा कमिशन आम्दानी भने सामान्य रूपमा घटेको छ।
नाफा र आम्दानीका सूचक सकारात्मक देखिए पनि खराब कर्जा अनुपात ६.०९ प्रतिशतबाट बढेर ८.४३ प्रतिशत पुगेको छ, जसले संस्थाको बढ्दो ऋण जोखिमलाई संकेत गर्छ। संस्थाले सम्भावित जोखिम न्यूनीकरणका लागि १ करोड १ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको जनाएको छ।
यसैबीच, संस्थाको सीडी रेसियो ११५.६२ प्रतिशत पुगेको छ भने बेस रेट र कस्ट अफ फण्डमा गिरावट आउँदा स्प्रेड दर ७.८३ प्रतिशतसम्म विस्तार भएको छ। यसले आगामी अवधिमा ब्याज आम्दानी कायम राख्न सहयोग पुग्ने देखिन्छ।
वितरणयोग्य मुनाफा दोब्बरभन्दा बढी अर्थात १०१.८४ प्रतिशतले बढेर ८५ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने लाभांश क्षमता ४५.७० प्रतिशत पुगेको छ।
संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २८.८० रुपैयाँबाट बढेर ४७.४१ रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर नेवटर्थ २२१.१३ रुपैयाँ, तरलता अनुपात ५.२० प्रतिशत, पीई रेसियो १७.४२ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४४८.५९ रुपैयाँ रहेको छ ।

