काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले देशव्यापी मतदाता शिक्षा अभियानलाई तीव्रता दिएको छ। मतदान प्रक्रियामा देखिने त्रुटि न्यूनीकरण गर्दै मतदाताको सचेत सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो।
निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ अनुसार सञ्चालनमा आएको यो अभियान फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहअन्तर्गत ६ हजार ७४३ वडामा सञ्चालन हुनेछ। आयोगले प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी घरदैलोमै पुगेर नमूना मतपत्रमार्फत मतदान प्रक्रियाबारे प्रशिक्षण दिने व्यवस्था मिलाएको जनाएको छ।
आयोगका अनुसार विगतका निर्वाचनमा देखिएको बदर मतको समस्या, मतदाता अलमल र प्रक्रियागत अन्योलतालाई कम गर्न लक्षित गर्दै कार्यक्रम अघि बढाइएको हो। मतदातालाई मताधिकारको संवैधानिक महत्व, सही तरिकाले मत हाल्ने विधि, गोपनीयताको सुनिश्चितता तथा मतदान केन्द्रमा अपनाउनुपर्ने आचरणबारे जानकारी प्रदान गरिनेछ।
आयोगले मतदाता शिक्षालाई केवल जानकारीमूलक कार्यक्रम नभई लोकतान्त्रिक संस्कृतिको सुदृढीकरणका रूपमा लिएको जनाएको छ।

