काठमाण्डौ । क्याम्ब्रिज युनिर्भसिटी प्रेस एण्ड एसेसमेन्ट अन्तर्गतको द इन्टरनेशनल एडुकेसन गु्रप नेपालमा आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डका विजेताहरुको घोषणा गर्न पाउँदा हर्षित भएको छ । नोभेम्वर २०२४ र जून २०२५ मा क्याम्ब्रिजको परीक्षा शृङखला (सिरिज) मा नेपालका माध्यमिक तहका विद्यार्थीको उत्कृष्ट शैक्षिक उपलव्धिको सम्मानमा यो अवार्ड प्रदान गरिएको हो ।
क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभल परीक्षामा नेपालका ४७ जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् । उनीहरुमध्ये ४ जना विद्यार्थीले विश्वभरबाट उच्च अंक हासिल गरेका छन् भने ३६ जनाले नेपालभित्र एकल बिषयमा उच्च अंक प्राप्त गरेका छन् । विश्वका विभिन्न ४० वटा देशमा क्याम्ब्रिज इन्टरनेशनल एडुकेसनले सञ्चालन गर्ने परीक्षामा सहभागी भएर विद्यार्थीले पाएको सफलतालाई आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड कार्यक्रमले सम्मान गर्दै आएको छ ।
क्याम्ब्रिजबाट हासिल भएको योग्यताले विश्वविद्यालय तहको अध्ययन तथा त्यसपछिका पेशागत र व्यवसायिक कार्यमा विद्यार्थीहरुलाई आवश्यक पर्ने सीप प्रदान गर्दछ । क्याम्ब्रिजबाट विद्यार्थीले प्राप्त गर्ने शैक्षिक योग्यतालाई विश्वभरका उत्कृष्ट र अग्रणी शैक्षिक संस्थाल मान्यता दिइरहेका छन् । साथै, ती संस्थाले विद्यार्थीको आलोचनात्मक सोचाइको क्षमता, अनुसन्धानका लागि चाहिने दक्षता र सीप तथा बिषयगत क्षेत्रमा उनीहरुको ज्ञानलाई उच्च कदर गर्ने गरेका छन् ।
अवार्ड विजेता घोषणाको अवसरमा क्याम्ब्रिज युनिर्भसिटी प्रेस एण्ड एसेसमेन्ट अन्तर्गत अन्र्तराष्ट्रिय शिक्षासम्बन्धी दक्षिण एसियाका क्षेत्रीय निर्देशक विनय शर्माले भने ‘क्याम्ब्रिजका विद्यार्थीहरु हाम्रो तर्फबाट हुने प्रत्येक कामको केन्द्र भागमा छन् । हामीले प्रदान गर्ने शिक्षाका सबै पक्ष विद्यार्थीको शैक्षिक विकास गर्न, सामथ्र्य अनुसार उपलव्धि हासिल गर्न र कक्षाकोठा भन्दा बाहिर समेत उनीहरु सबल तुल्याउन सक्ने गरी तयार पारिएका छन् । नेपालका विद्यार्थीहरुको उत्कृष्ट नतिजा र उपलव्धिलाई उत्सवका रुपमा मनाउन पाउँदा हामीले गर्वको महसुस गरिरहेका छन्, विद्यार्थीको सफलतामा उनीहरु स्वयम्को समर्पण र लगाव अनि शिक्षक र परिवारको बलियो सहयोग जोडिएका छन् । यी अवार्डले विश्वव्यापी रुपमा विद्यार्थीको उत्कृष्ट नतिजालाई सम्मान गर्नुका साथै आगामी दिनमा उनीहरुको पढाइ र करिअरका लागि चाहिने आत्मविश्वास र सीपलाई उजागर गर्नेछ । अवार्ड विजेता सबै विद्यार्थीलाई बधाइ दिन चाहान्छौं र आगामी वर्षहरुमा समेत नेपालमा थप सफलताका लागि सहयोग गर्न हामी तयार छौं ।’
अवार्ड विजेता घोषणाका अवसरमा ब्रिटिस काउन्सिल नेपालकी परीक्षासम्बन्धी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले भनिन्, ‘नेपालभरका विद्यार्थीको प्रतिवद्धता, अनुशासन र शैक्षिक उपलव्धि उनीहरुले प्राप्त गरेका उत्कृष्ट नतिजाहरुमा सशक्त रुपमा प्रतिविम्वित भएका छन् । आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमार्फत विद्यार्थीले राष्ट्रिय र अन्र्तराष्ट्रिय तहमा प्राप्त गरेको सफलताले मान्यता पाएको देख्न पाउँदा हामी निकै खुशी भएका छौं । निरन्तरको मिहिनेत र प्रयास, उच्च गुणस्तरिय शिक्षण तथा विद्यालय, परिवार र परीक्षा सञ्चालनमा संलग्न व्यक्ति/समूहको सहयोगबाट नै यी सफलता हासिल भएको हो ।’


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।