काठमाण्डौ । निर्वाचन आयोग ले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ।
आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा काठ, फलाम वा अन्य सामग्रीबाट बनेका ठूला तथा भौतिक निर्वाचन चिह्न प्रयोग गर्दा सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने गुनासा प्राप्त भएको उल्लेख गरेको छ। यस्ता सामग्रीको प्रयोगले सार्वजनिक सुरक्षा र व्यवस्थापनमा समस्या आउन सक्ने आयोगको भनाइ छ।
आयोगका सहसचिव एवं नारायणप्रसाद भट्टराई द्वारा जारी विज्ञप्तिमा कानूनले तोकेको मापदण्डअनुसार मात्र दलको झण्डा तथा कागजमा छापिएको निर्वाचन चिह्न प्रयोग गर्न पाइने स्पष्ट पारिएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आचारसंहिता, २०७९ ले व्यवस्था गरेअनुसार आयोगले निर्धारण गरेको स्वरूपबाहेक अन्य प्रकारका चिह्न प्रयोग गर्न नपाइने जनाइएको छ। उल्लङ्घन गरेको पाइएमा प्रचलित आचारसंहिताअनुसार कारबाही गरिने आयोगले चेतावनी दिएको छ।
आयोगले सबै राजनीतिक दल तथा उम्मेदवारलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।

