काठमाण्डौ । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन्।
राष्ट्रिय समाचार समितिसँगको अन्तर्वार्तामा उनले आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेको र त्यसबारे आज बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुने जानकारी दिइन्।
“आयोगले प्रतिवेदन बुझाएको छ। आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। त्यहाँ छलफल गरेर आवश्यक निर्णय लिन्छौँ,” प्रधानमन्त्री कार्कीले भनिन्।
उनले वर्तमान सरकारसँग धेरै समय बाँकी नरहेको उल्लेख गर्दै नयाँ जनादेश आइसकेकाले आगामी सरकारले पनि बाँकी प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गरिन्।
“अब हामीसँग धेरै समय पनि छैन। नयाँ जनादेश आइसकेको छ। नयाँ सरकारले पनि बाँकी प्रक्रिया अवश्य अघि बढाउनेछ,” उनले भनिन्।
भदौ २३ र २४ गते भएको घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले प्रतिवेदन बुझाइसकेपछि त्यसलाई सार्वजनिक गर्न र कार्यान्वयन प्रक्रिया अघि बढाउनुपर्ने माग विभिन्न पक्षबाट उठ्दै आएको छ।

