काठमाडौँ । दक्षिण अमेरिकी देश कोलम्बियामा वायु सेनाको एक सैनिक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
कोलम्बियाली वायु सेनाका कमाण्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाका अनुसार विमानमा ११४ जना सैनिक र ११ जना क्रु सदस्य सवार थिए। अमेरिकामा निर्मित सी–१३० हरक्युलिस विमान सैनिक ओसारपसारका लागि प्रयोग गरिँदै आएको थियो।
यो दुर्घटना पुटुमायो प्रान्तस्थित प्यूर्टो लेगुइज़ामो शहर नजिकै भएको हो। विमान उडान भरेको केही समयमै दुर्घटनामा परेको बताइएको छ। घटनास्थलमा उद्धार टोली खटिएको छ र भग्नावशेषमा जीवित व्यक्तिहरूको खोजी जारी रहेको छ।
कोलम्बियाका रक्षा मन्त्री पेद्रो सान्चेजले उक्त विमान लकहिड मार्टिन कम्पनीद्वारा निर्मित रहेको उल्लेख गर्दै सैनिक टोली बोकेर उडान भर्दै गर्दा “दुःखद दुर्घटना” भएको बताएका छन्। उनले विमानमा आगलागी भएपछि भित्र रहेको गोला–बारुद विस्फोट भएको प्रारम्भिक अनुमान पनि सार्वजनिक गरेका छन्।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनापछि स्थानीय बासिन्दाहरूले घाइते सैनिकहरूलाई मोटरसाइकलमार्फत अस्पताल पुर्याउन सहयोग गरिरहेका छन्।
राष्ट्रपति गुस्ताभो पेत्रोले सामाजिक सञ्जालमार्फत यस घटनालाई “भयानक दुर्घटना” भन्दै दुःख व्यक्त गरेका छन्। उनले सशस्त्र बलका उपकरण तथा विमान आधुनिकीकरणमा भइरहेको ढिलाइका लागि प्रशासनिक अवरोधलाई दोष दिँदै अब थप ढिलाइ सहन नसकिने बताएका छन्।
सैन्य स्रोतका अनुसार यो दुर्घटना कोलम्बियाली वायु सेनाको हालसम्मकै सबैभन्दा घातक घटनामध्ये एक हो।
उद्धार तथा राहत कार्य तीव्र पारिएको छ भने घाइतेहरूको उपचारका लागि विशेष व्यवस्था गरिएको सेनाले जनाएको छ।

