काठमाण्डौ । अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि ईरानमा तहरेनको सत्तापरिवर्तन (रेजिम चेन्ज) सजिलै र छिट्टै नहुने देखिएको छ। इजरायली खुफिया एजेन्सी मोसादका प्रमुख डेभिड बार्नियाले युद्ध सुरु हुनुअघि नै प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई चेतावनी दिएका थिए कि ईरानमा सत्तापरिवर्तन प्रक्रिया केही दिन वा हप्तामा नभई करिब एक वर्षसम्म लम्बिन सक्छ।
नयाँ इन्फर्मेसन रिपोर्ट अनुसार, सुरुमा ईरानी सत्ता छिट्टै ढल्ने अनुमान गरिएको थियो। तर मोसादको मूल्यांकनले यो धारणालाई पूरै उल्टाएको छ। मोसाद प्रमुख बार्नियाले स्पष्ट रूपमा भनेका थिए-“रेजिम चेन्ज सम्भव छ, तर यसमा पर्याप्त समय लाग्नेछ।”
यो खुलासाले मध्यपूर्वको चलिरहेको द्वन्द्वलाई थप जटिल बनाएको छ। अमेरिका र इजरायलले ईरानका आणविक स्थलहरूमा आक्रमण गरिरहेका बेला इरानले पनि प्रतिकार गर्दै मिसाइल आक्रमण जारी राखेको छ।
मोसादको यो पूर्वानुमानले इजरायली र अमेरिकी रणनीतिकारहरूलाई चुनौती दिएको छ। यदि युद्ध एक वर्षसम्म चलेमा विश्वव्यापी ऊर्जा संकट गहिरिन सक्ने र तेलको मूल्यमा ठूलो उतारचढाव आउने खतरा बढेको छ।
ईरानको इस्लामिक रिपब्लिकन गार्ड कोर्प्स (आईआरजीसी) ले भने आफ्नो मिसाइल उत्पादन क्षमता अझै बलियो रहेको दाबी गर्दै आक्रमणको सामना गर्न तयार रहेको बताएको छ।
यो घटनाक्रमले मध्यपूर्व शान्ति प्रक्रियालाई थप कठिन बनाएको छ। पाकिस्तानलगायतका देशहरूले युद्धविरामका लागि मध्यस्थता प्रयास गरिरहेका छन्, तर इरानले अमेरिकासँग वार्ता गर्न अस्वीकार गरिरहेको अवस्थामा द्वन्द्व लम्बिने सम्भावना प्रबल देखिएको छ।
विश्लेषकहरूका अनुसार, मोसादको रिपोर्टले अमेरिका र इजरायलको ‘छिटो विजय’ को योजना प्रभावित पार्न सक्छ र क्षेत्रीय युद्धलाई दीर्घकालीन रूप दिन सक्छ।
-Agencies


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।