काठमाण्डौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र संस्थागत अनुशासन र एकरूपता कायम गर्न सांसदहरूलाई निर्देशन दिएको छ।
पार्टी सभापति रवि लामिछानेले संसदीय दलको अनौपचारिक बैठकमा सांसदहरूले प्रयोग गर्ने लेटरहेड, कार्डलगायतका कागजातमा एकरूपता अपनाउन निर्देशन दिएका छन्।
साथै, व्यक्तिगत कागजातमा “माननीय” सम्बोधन प्रयोग नगर्न पनि उनले आग्रह गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
प्रवक्ता झाका अनुसार सभापति लामिछानेले सांसदहरूलाई अनुभव, मेन्टर र सल्लाहकारहरूसँग नियमित संवाद गरी सिकाइ बढाउन सुझाव दिएका छन्।
साथै, आगामी निर्वाचनलाई लक्षित गर्दै उपयुक्त उम्मेदवार छनोट र प्रशिक्षणका लागि वैशाख २० गतेदेखि ‘क्यान्डिडेट क्लब’ अभ्यास शुरु गरिने भएको छ।
त्यस्तै, पार्टीभित्र कसैलाई पनि आगामी निर्वाचनको टिकटबारे व्यक्तिगत रूपमा कुनै प्रकारको प्रतिबद्धता नगर्न कडा निर्देशन दिइएको छ।
यस्तो अभ्यास वा गतिविधि भेटिएमा अनुशासनात्मक कारबाही हुने चेतावनीसमेत दिइएको प्रवक्ता झाले बताए।
रास्वपाले संगठनलाई व्यवस्थित र पारदर्शी बनाउँदै आगामी चुनावी तयारीलाई संस्थागत रूपमा अघि बढाउने रणनीति लिएको छ।

