काठमाण्डौ । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ । बैठकमा मन्त्रालय मर्ज र खारेजीसम्बन्धी महत्वपूर्ण खाकामाथि छलफल हुने तयारी छ।
हालका चार मन्त्रालय खारेज गर्ने र कम्तीमा ६ मन्त्रालयको नाम तथा संरचना परिवर्तन गर्ने योजना अन्तिम चरणमा पुगेको जनाइएको छ। प्रस्तावित व्यवस्थाअनुसार मन्त्रालय संख्या १७ मा सीमित गरिनेछ, जुन सरकारको सय दिने प्रशासनिक सुधार योजनासँग जोडिएको छ।
मन्त्रालय मर्ज र खारेज सम्बन्धी खाका तयार पार्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदल पनि बनाएको थियो । उक्त कार्यदलले संघमा १७ मन्त्रालय रहने प्रस्ताव गरेको थियो ।
सरकारले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्ने तयारी गरेको छ।खेलकुद क्षेत्रलाई शिक्षा मन्त्रालयमा गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय बनाउने प्रस्ताव छ।
युवा तथा खेलकुद मन्त्रालयबाट छुट्टाइएको युवा मन्त्रालयलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, स्वास्थ्य तथा जनसंख्या र स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालयलाई समेटेर ‘लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय’ बनाउने तयारी गरिएको छ।
यस्तै, खानेपानी र शहरी विकासलाई भौतिक पूर्वाधारमा गाभेर ‘एकीकृत भौतिक पूर्वाधार मन्त्रालय’ बनाइनेछ । खानेपानी तथा सरसफाइ मन्त्रालयबाट सरसफाइलाई छुट्टाएर स्वास्थ्य मन्त्रालयमा गाभ्ने तयारी छ ।
खानेपानी र शहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभिनेछ र यसको नयाँ नाम ‘एकीकृत भौतिक पूर्वाधार मन्त्रालय’ राखिनेछ । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने तयारी समेत गरेको छ ।
त्यस्तै, भौतिक मन्त्रालयबाट छुट्टाएर यातायातलाई श्रमतिर लैजाने जनाइएको छ ।
यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गरिबी, सञ्चार मन्त्रालयबाट सूचना–प्रविधि र शिक्षा मन्त्रालयबाट विज्ञान–प्रविधि झिकेर तिनलाई पनि प्रधानमन्त्री कार्यालय मातहत राख्ने तयारी छ ।

