काठमाण्डौ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी का प्रवक्ता मनिष झा ले प्रधानन्यायाधीश सिफारिसलाई लिएर विवाद भइरहेका बेला डा. मनोजकुमार शर्मा लाई सिफारिस गर्नुको कारण र आधार सार्वजनिक गरेका छन् ।
झाले सार्वजनिक गरेको विवरणअनुसार न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि (पीएचडी) गरेका र मुद्दा फछ्र्यौटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका न्यायाधीश भएकाले डा. शर्मालाई सर्वोच्च जिम्मेवारी सुम्पिने निर्णय गरिएको हो ।
उनका अनुसार न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६-२०८१) अन्तर्गत भएको कार्यसम्पादनको वस्तुगत मूल्याङ्कन गर्दा डा. शर्मा समकालीन न्यायाधीशहरूमध्ये निकै अगाडि देखिएका छन् ।
सर्वोच्च अदालतको तथ्याङ्क उद्धृत गर्दै झाले प्रधानन्यायाधीशका लागि प्रस्तावित न्यायाधीशहरूमध्ये डा. शर्माले हालसम्म ७ हजार ३ सय ८८ मुद्दा तथा निवेदनको अन्तिम टुङ्गो लगाएको बताएका छन् । यो संख्या अन्य प्रस्तावित न्यायाधीशको तुलनामा सबैभन्दा धेरै रहेको दाबी गरिएको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा मात्रै डा. शर्माले २ हजार १ सय ८१ मुद्दा किनारा लगाएको उल्लेख गरिएको छ । प्रस्तावित न्यायाधीशहरूमध्ये ७ हजारभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने उनी एक्लो न्यायाधीश रहेको दाबी गर्दै झाले यसले न्याय सम्पादनमा उनको सक्रियता, क्षमता र गतिशीलता स्पष्ट हुने बताएका छन् ।
झाले कानुन विषयमा विद्यावारिधि गरेका व्यक्तिलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नु न्यायपालिकाका लागि अर्थपूर्ण कदम भएको समेत उल्लेख गरेका छन् ।

