काठमाण्डौं । भन्सार विभागले व्यापार प्रक्रियालाई आधुनिकीकरण गर्दै डिजिटल प्रणाली विस्तार गर्ने क्रममा नेपाल राष्ट्रिय एकल द्वार प्रणालीअन्तर्गत टिआइभी डिक्लेरेसन पोर्टल सञ्चालनमा ल्याएको छ ।
विभागको सूचना प्रविधि प्रणाली विकास शाखाका अनुसार मिति २०८३/०१/१७ को निर्णयअनुसार उक्त पोर्टल औपचारिक रूपमा कार्यान्वयनमा आएको हो ।
यससँगै भन्सारसम्बन्धी परम्परागत म्यानुअल प्रक्रिया क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण हुने भएको छ ।
नयाँ व्यवस्थाअनुसार अब सेवाग्राहीले टिआइभी डिक्लेरेसन अनलाइनमार्फत गर्न सक्नेछन् ।
साथै, सम्बन्धित शुल्क तथा भुक्तानी म्यानुअल वा ई–पेमेन्ट दुवै माध्यमबाट गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ ।
विभागले सबै भन्सार कार्यालय तथा सम्बन्धित निकायलाई नयाँ प्रणाली नियमित रूपमा प्रयोग गर्न निर्देशन दिएको छ ।
सेवाग्राहीको सहजताका लागि विभागको आधिकारिक वेबसाइट www.customs.gov.np मा टिआइभी मोड्युलको लिंक राखिएको छ ।


